Latest News

धर्म निरपेक्षको खिल्लि उडाउँदैछ

काठमाडौं । छहरा साप्ताहिक । नेपाल विविध धर्म, संस्कार, संस्कृतिको देश हो । यहाँ कुनै धर्मावलम्विले गाइ काटेर खान्छन् भने कुनै धर्मावलम्वीले पुज्दछन् । यस्तो विविधताले भरिएको देश भएकै कारण जनताको भावना अनुसार २०७२ को नयाँ संविधानमा धर्मनिरपेक्ष राज्यको व्यवस्था गरेको छ । तर संविधानले जे बोले पनि व्यवहारमा त्यो भएको छैन् । धर्मनिरपेक्षताको व्यवस्था भएको देशमा गाईको मासु खानु छुट हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।
हालै मात्र पनि सुनसरी, बर्जु गाउँपालिका–५ अमाइबेलामा गाई काटी भाग लगाई रहेका मुस्लीम धर्मावलम्वी वर्ष १८ का सावादिन अन्सारीलाई स्थानीय वडा प्रहरी कार्यालयका प्रहरीले पक्राउ गरेको छ । दुवैलाई प्रहरीले सोही ठाउँमा लुकमान अन्सारीको आँगनमा गाई काट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यसै गरी पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ मा गाई काटिरहेकै अवस्थामा प्रहरीले स्थानीय चार जना यूवाहरुलाई पक्राउ गरेको छ । बकैयाका हात्तीसुँडे प्रहरी चौकीबाट खटिएका प्रहरीहरुले स्थानीय यूवाहरु राजकुमार सिंतान, शंकर भोम्जन, प्रेम लोप्चन र जयबहादुर नेगीलाई पक्राउ गरेको समाचार छ ।
यसरी धर्मनिरपेक्ष राष्ट्रमा, हिन्दूधर्मकै भरणपोषण गर्न खोज्नु लोकतान्त्रिक देशको निमित्त राम्रो सन्देश भने होइन । खोक्रो धर्म निरपेक्षताको रटान रट्दै, अझै आदिवासी, जनजातिको आँखामा छारो हाल्ने काम भइरहेको छ । यसतर्फ आदिवासी जनजाति सचेत हुनुपर्ने देखिन्छ ।
“प्राचीन कर्मकाण्ड मुताविक उ एउटा हिन्दू बन्न सक्दैन, जो गाईको मासु खाँदैन ।”
“भारतमा एक यस्तो समय थियो, गाईको मासु नखाने ब्राह्मण, ब्राह्मण हुन सक्दैन थियो ।”
(हिन्दू धर्मको महान् विद्वान त्जभ ऋयmउभितभ धयचम बत कधबmष् दष्दभपबलबलमब( खयिि( ष्ष्ष्, द्दण्(ज्ञठद्ध)
तर किन हो कुन्नि ? नेपालमा ब्राह्मणवादी शाषकले भने गाईलाई गौमाता भनेर पुजा आजा गर्न थाले । तर हिन्दूहरुले गौमाता भनेर पुजा गर्दैमा यो मुलुकमा रहेका मुस्लिम, क्रिश्चियन, बुद्धिष्ट आदि धर्मावलम्वीहरुले गाईको मासु खान छोड्लान र ? (छहरा साप्ताहिक वर्ष ३४, अंक ५९ बाट)
नेपालमा गौबध निषेध यसरी सुरुभयो
सन् १७४० मा काठमाडौं भ्रमणमा आएका क्रिश्चियन मिशनरीका व्यक्तिले काठमाडौंबाट आफ्नो देशमा पठाएको “गाई मार्दा सजाय मृत्यु दण्ड” दिईन्छ भनेर पठाएको पाईन्छ । त्योभन्दा पहिल्यै संवत १७२२ तिर काठमाडौं भ्रमण आएका फादर डेसीडेरीले बनाएको प्रतिवेदनमा पनि यहाँका जनताहरु गाईलाई मनोमानी ढंगले “कोही आदर सत्कार गर्छन् भने कोही काटेर मासु पनि खान्छन्” भनेर लेखेको पाइन्छ । मुलुकका विभिन्न इलाकाहरुमा गाई काट्न संस्कारगत निषेध गर्दै गोर्खाली राज्य विस्तार पछिको पहिलो आदिवासी जनजाति माथिको जर्बजस्ती पहिलो धार्मिक हमला भनेर गाई काट्न निषेध गरिएको ‘आदेश’ लाई मान्न सकिन्छ ।
पृथ्वीनारायण शाहको राज्य विस्तार पछि नेपाल अधिराज्यभर गौवध नगर्न नगराउन तुरुन्त कानून लागु गर्न गराउन निकै कठिन भईरहेको थियो । र त्यो गौवध निषेध गर्न प्रभावकारी कार्यान्वयन नहुनुमा स्थानीय सरकारी प्रतिनिधिहरुद्वारा वार्षिक रुपमा ‘पाप मोचन’ गर्ने भन्दै ‘चोखो दण्डको’ नाममा उठाईने राजस्व नै प्रमुख थियो, जसलाई विक्रम संवत १८६३ मा खारेज गरियो । (सोलुखुम्बुमा गौवधको निम्ति दण्ड खारेज, वैशाख सुदी ८, १८६३) सोलुखुम्बु र चाखन क्षेत्रमा गौवध निषेध गर्ने गराउने कानुन प्रभावकारी ढंगले लागु गर्न माघ वदि ९, १८६२ मा न्यायधिश पठाइएको थियो । यस इलाकामा गौवध गरेर मासु खाने चलनलाई हटाउने कानुन घोषणा गरी लागु गराउनुपर्ने थियो । तत्कालिन कानूनी घोषणाले गौवध गरेको अपराध प्रमाणित भएमा उसलाई मृत्यु दण्ड वा दास बनाईने छ । नेपाल सरकारको कानूनको दायरा भित्र आईसकेको क्षेत्रहरु गौवध गर्नेहरुको पत्नी, छोराहरु, छोरीहरु र जमानती सम्मलाई सजाय गर्ने तिनीहरु जसले फाल्गुन १८६० पछि यस्ता अपराध  गर्ने दुस्साहस गर्नेछन् । उनीहरुको टाउको गिडिन्छ वा दास बनाईन्छ भन्ने उल्लेख गरिएको थियो । (सोलुखुम्बुमा गौवध विरुद्धमा लागु गरिएको कानुन मार्ग वदि ९ १८६२) यसै समयमा सरकारद्वारा यो निर्णय गर्दछ कि सोलुखुम्बु क्षेत्रमा भने चौरी काट्नलाई अनुमति दिईन्छ भन्ने छ । (सोलुखुम्बुमा गौवध विरुद्धको आदेश, आश्विन वदी ३ १८६२)
संवत १८६२ मा पश्चिम पहाडी क्षेत्रमा स्थानीय दमाईलाई यसै अपराधमा मृत्युदण्ड दईएको थियो । स्थानीय सरकारी प्रतिनिधिको आदेशबाट उसको पछाडिको मासु काटेर उक्त गाउँमा नुनचुक छरेर उसको त्यो काटिएको मासु उसैलाई खुवाईदिँदै उसलाई मारिएको थियो । –गौवध गर्ने दमाईलाई आदेशात्मक सजाय चैत्र वदि ९ १८६२)
समय समयमा आदेश र कानूनहरुको घोषणा गर्दै आएको भए पनि १८६६ देखि १८६९ सम्ममा गौवध विरुद्धमा लिखित कानून तयार गरिएको थियो । –गौवध सम्बन्धि कानून, श्री ५ को सरकार सुरेन्द्र वीर विक्रम शाहदेवका शासनकालमा बनेको मुलुकी ऐन)
गाई मार्नेलाई सजायको महल अन्र्तगत ऐनका परिच्छेदहरु निम्नि प्रकारका छन्ः
१. कुनै व्यक्ति जसले जानी जानी गौवध गर्छ उसलाई ज्यान सजाय तोकिने छ ।
२. यदि कुनै मानिसले जानी जानी कुनै हतियार वा लठ्ठीले गाईलाई नमर्ने गरी तर दुःख दिने मनसायले हिर्काउने वा चोट पुर्याउने गर्दछ भने उसलाई दास बनाउन सकिने छ, यदि उ दास बनाउन सकिने जातको भए तर अरु जाति भए उसको सर्वस्व हरण गरी कानून अनुसार अपराध मुक्त पनि गर्न सकिने छ ।
३. गाईहरु धपाउँदै गर्दा वेवास्ता गरेर लौरो वा ढुंगाले लागेर मर्यो वा खसी बनाउँदा वा जोत्दा गोरु मर्यो भने धार्मिक प्रायश्चित स्वरुप रु १ दण्ड गरिने छ ।
४. गाई वा गोरु धपाउँदै लैजादा कसैले लौरो वा ढुंगाले हान्दा गाईगोरु खतरा ठाउँतिर गएर मरे वा वेवास्ता गरेको विषयमा कसैले सुचना दिएमा उसलाई रु १ जरिवाना हुनेछ र प्रथा अनुसार र धार्मिक अनुष्ठान अनुसार प्रायश्चित गर्न लगाइने छ । यदि कसैले अर्का मानिसलाई गौवध गरेको दोष लगाएको सम्बन्धमा प्रमाणित नभए दोष लगाउने व्यक्तिलाई रु १०० जरिवाना गरिन्छ । यदि कसैले गौवध गरेको सम्बन्धि सूचना दिन्छ तर यो स्वभाविक मृत्यु भएको देखिएमा र यदि त्यो सूचनालाई बढाई चढाई गरेर उसलाई फसाउने अभिप्रायले बनावटी सुचना दिएको प्रमाणित भएमा उसलाई रु ६० जरिवाना सहित प्रायश्चित गराईने छ । यदि उसले जरिवाना तिर्न नसके जेल सजाय दिइने छ ।
५. यदि कसैले गौवध गरेको देखेर पनि सूचना दिदैन र यो खबर दबाउँछ भने उसलाई रु ५० जरिवाना गरिनेछ ।

« PREV
NEXT »

यसमा तपाइको मत