Latest News

राजतन्त्र पश्चात जनताले के पाए ?

काठमाडौं । काठमाडौंमा सम्पन्न एक कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा नेपाली जनताले के पाए, अब त्यसको समिक्षा गर्नुपर्ने भएको छ, भन्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दूराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देशले कुनै उपलब्धि हासिल गर्न नसकेकोमा दुःख व्यक्त गरे । अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबि गरे । थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफुहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी पनि दिए । थापाले लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकता रहेको औंल्याए । गणतन्त्रले बेथिति मात्रै बढाएको भन्दै अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाई छ । उनले यी सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गरे । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टि गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे । २२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिनलगायतका माग समेटिएको जानकारी पनि थापाले दिए ।
राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ गतेदेखि गर्ने राष्ट्रिय स्वाभिमान यात्राको औचित्य पनि थापाले पुष्टि गरेका छन् । पार्टीले १५ गते ताप्लेजुङ्गका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिष्य स्वाभिमान यात्रा प्रारम्भ गरेको छ । थापाकाअनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको छ । त्यसैगरी संघीयता कार्यान्वयन र चुनौति, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि पनि यात्रा गर्न लागिएको थापाले बताए । ताप्लेजुङबाट शुरु भउको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौं आएर समापन हुने छ ।
ताप्लेजुङबाट काठमाडौंसम्मको १५ दिने यात्राले दुई हजार ८ सय किमि दुरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने छ । यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौंमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूतिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दा बढी सभा हुने र सभालाई अध्यक्ष थापाले सम्बोधन गर्नेछन् । २२ बुँदे मागपत्रलाई सरकारले वेवास्ता गरेमा चैत्र १ गतेदेखि सबै स्थानीय निकायबाट विरोधका कार्यक्रम सुरु गरिने थापाले जानकारी दिए । उक्त विरोधलाई काठमाडौंसम्म विस्तार गर्ने थापाको भनाइ छ । थापाले केपी ओली नेतृत्वको सरकारले एक वर्षमा जनतालाई निराशा मात्रै दिएको आरोप पनि लगाए । पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहोनीबीचको एकताबारे थापाले गम्भीर प्रश्न उठाएका छन् । “पशुपतिशमशेर राणाले जवाफ दिनुपर्छ हामीसँग किन एकता गर्न चाहनुभएन ? किन प्रकाशचन्द्र लोहोनीसँग एकता गर्नुभयो ?” थापाले प्रश्न गरे । २ लाख भोट ल्याउने पार्टीलाई छोडेर २० हजार भोट भएको लोहोनीसँग राणाले एकता गर्नुको रहस्य गम्भीर हुनसक्ने थापाको भनाई थियो ।

« PREV
NEXT »

यसमा तपाइको मत