ईतिहासको हर कालखण्डहरुमा निर्णायक भूमिका निर्वाह गर्दै आएका नेपालका आदिवासी÷जनजातिहरु अझै पुर्पुरोमै हात राखेर आफुले आफैलाई धिकार्दै बस्नु परेको छ । नेपाल निर्माणको लागि रगतको खोलो बगाउदै आदिवासी भूमिपुत्रहरु आज पनि पहिचानकै मुद्दामा अल्झिनु परेको अवस्था छ ।
आदिवासी जनजातिहरुको हक, अधिकार र पहिचान स्थापित गरिदिने प्रलोभन देखाएर आफ्नै दाजुभाईका विरुद्ध हतियार उठाउन लगाएर कथित क्रान्तिकारीहरुले आदिवासी जनाजातिहरुलाई विभिन्न समुहमा विभाजित गराएर कमजोर बनाए । आदिवासी जनजातिको बलिदानी, त्याग र बहादुरीले उचाई लिएको पूर्व माओवादी पार्टीमा तिनै आदिवासी जनजातिलाई दोस्रो दर्जाको आदिवासी सरह व्यवहार गरेर पार्टी भित्र मर्नु न बाँच्नुको अवस्थामा पुर्याइयो । एउटा राजनीतिक दल भित्र मात्र यस्तो अवस्था छैन प्रायः सबै पार्टी भित्र आदिवासी जनजाति दोस्रो दर्जाको नेता वा झोलेको रुपमा देखिन्छन् । नेकपा एमालेभित्र आदिवासी जनजातिको उचित सम्मान र सहअस्तित्व नस्वीकारीए पछि अशोक राई पहिचानको खोजीमा अर्कै पार्टी स्थापना गर्न पट्टी लागे । यसरी नै अन्य पार्टीका जनजाति नेताहरुको अवस्था पनि रहेको छ । माओवादी होस् या नेपाली कांग्रेस भित्र नै किन नहोस् जनजातिको सम्मान र सहअस्तित्वको व्यवहार हुन सकेको छैन । के आदिवासी जनजाति अरुको हक अधिकार, पहिचान र स्वार्थ रक्षाका लागि मात्र जन्मेका हुन् त ? समग्र आदिवासी जनजातिले आफ्नो महत्व बुझेर इतिहासको बहादुरी र आफ्नै राज्य सम्झेर एकढिक्का भई आफ्नो हकहित र अधिकार पहिचानका लागि आफ्नै नेतृत्वमा लड्नु पर्ने अपरिहार्य देखिन्छ । यो समुदाय बहादुर र लडाकु स्वभावको सुरवीर भएको बुझेको शाह वंशीय राजाहरु र राणाहरुद्वारा आफ्नो शासन टिकाइ राख्नका लागि हदैसम्म प्रयोग गरियो र पछि संगठीत भई यिनीहरुबाट राज्य विप्लभ हुन सक्ने खतरा देखेर विदेशी सेनामा पठाउन थालियो । यसो गर्दा बहादुर जातिहरु विदेशीने र आफ्नो शासन सुरक्षित हुने बुझेका चतुर शाह र राणाहरुले आदिवासी जनजातिको शक्तिको दोहन गरिरहे । जतिजति बेला उनीहरुको शासन धरापमा पर्न थाल्छ त्यति बेला आदिवासीलाई सम्झिने र भरपूर उपयोग गरे । शक्ति वा शासन प्राप्त भएपछि आदिवासी जनजातिको उपयोगिता समाप्त भएको ठान्ने उपयोगितावादी नीति शासकहरुले अंगाल्दै आए । जुन कुरालाई हालका शाषकहरुले समेत निरन्तरता दिँदै आएका छन् । यस्ता उपयोगितावादी नीति लिएर सँधै नै आदिवासी जनजातिलाई उपयोग गर्ने शासकहरु विरुद्ध अब सम्पूर्ण आदिवासी जनजातिहरु सबै पार्टी र खेमाबाट माथि उठेर आफ्नो हक, अधिकारका साथै पहिचान स्थापित गर्नका निम्ति सशक्त रुपमा निर्णायक भूमिकामा होमिनुको विकल्प छैन ।





Social Buttons