Latest News

नेताहरु फर्सीझै कुहिएकै हुन् त?

काठमाडौं । छसस । इतिहासको कालखण्डदेखि नै षड्यन्त्रको शिखर बन्दै आएका आदिवासी जनजाति, मधेसी लगायत पीडित समुदाय वर्तमान समयसम्म ठगिदै आएका छन् । त्यति टाढा नजाऊ २०५२ सालकै कुरा गरौं । त्यसबेला सुरु भएको शसस्त्र द्वन्दमा सामेल भएदेखि नै खासगरी यहाँ आदिवासी जनजाति मधेसी समुदायहरुलाई एकल जातीय पहिचानका आधारमा संघीय संरचना बन्छ, बनाइन्छ र बनाउँनै पर्छ भन्दै आएका नेताहरुले अहिले आएर एकाएक बोली फेरी एक जातीय पहिचानका आधारमा होइन बहुजातीय पहिचानका आधारमा संघीयता हुनुपर्छ भन्दै सोही अनुरुपको व्यवहार गर्न थाले ।
सशस्त्र द्वन्द सुरु हुनुभन्दा अघिदेखि नै आदिवासी जनजाति, निम्न वगींय जनताका हकअधिकार सुनिश्चित हुनुपर्छ भन्ने सुँगा रटाई गर्दै आएका वर्तमान नेकपा अध्यक्ष प्रचण्डले समेत अहिले आएर रातारात संघीयताका सवालमा यसरी बोली फेरेका छन् । आफूलाई अब्बल दर्जाको क्रान्तिकारी सर्वहारावादी, जनमुखी नेताका रुपमा प्रचार गराउँदै आएका प्रचण्डलगायतका क्रान्तिकारीहरुले सत्ताको स्वाद चाख्न पाएपछि विगतमा उनीहरुले सर्वसाधारण जनता सामु गरेका प्रतिबद्धताहरुबाट स्खलित हुनु कुनै अनौठो कुरा थिएन । किनकि क्रान्तिकारी कम्युनिष्टहरु आफ्ना सैद्धान्तिक आदर्शबाट विचलित भएर सुविधाभोगी भएभने ती कालान्तरमा कुहिएको फर्सीजस्तो दुर्गन्धित बन्छन् भन्ने भनाई नै छ । जसको पुष्टि पूर्व एनेकपा माओवादी नेताहरुले गरेका छन् । सोझासिधा जनतालाई अनेकथरि झुठा आश्वासन बाँडेर सत्ताको तालाचावी आफ्नो हातमा पार्न सफल भएका प्रचण्डहरुलाई त्यही कुहिएको दुर्गन्धित फर्सीसँग तुलना गर्दा फरक नपर्ने राजनीतिक विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन् । एक दशकभन्दा बढी आफुचाहिँ सुरक्षित स्थानमा बस्ने अनि निमुखा जनताका होनहार छोराछोरीहरुलाई गोलाबारुदको भुंग्रोमा बलि चढ्न झुठा आस्वासन दिएर उक्साउनेहरुको वास्तविक नियत सत्तामा पुगेपछि फेरिएको उनीहरुको अनुहारको चमक र आर्थिक हैसियतबाट समेत प्रष्ट भइसकेको छ । खासगरी ०५२ देखि सशस्त्र युद्ध मच्चाएका प्रचण्ड बाबुरामहरुले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्ने लगायत अनेकथरि झुठा आश्वासन बाडेर जनजाति युवाहरुलाई युद्धको भुग्रोमा होमिन उक्साए । त्यस क्रममा प्रचण्डको आश्वासन सही होला भन्ने ठानेर थुप्रै आदिवासी जनजाति युवाहरुले जीवन आहुति दिए । तर  अहिले आएर प्रचण्ड बाबुरामहरु आफूले त्यतिबेला गरेका प्रतिबद्धताबाट १८० डिग्रीमा फेरिएपछि आदिवासी जनजातिहरुले युद्धकालको क्षतिपूर्ति उनीहरुसँग माग्न थालेका छन् ।
सशस्त्र द्वन्द छोडेर शान्ति प्रक्रियामा आउँदासम्म प्रचण्ड बाबुरामहरुका चाउरी परेका गाला, सुडान वा इथियोपियाका भोकमरी लागेका नागरिकको जस्तो शरीर, निन्याउरो अनुहार आम नेपालीले देखेकै हुन् । तर संविधानसभाको निर्वाचनपछि जब उनीहरु ठूलो पार्टीको हैसियतमा सत्तामा पुगे, उनीहरुको क्रान्तिकारीता माटोमा विलिन भयो भने उनीहरुको अनुहारमा दिनप्रतिदिन चमक थपिदै गयो । एकदशक भन्दा बढी गोलाबारुदसँग सिगौरी खेलेर जीवन आहुति दिएका, त्यसै क्रममा जीवनभर आफ्ना पाखुरा बजारेर गुजारा चलाउँदै नसक्ने गरी अपाङ्ग भएकाहरुलाई यी क्रान्तिकारीहरुले आफु सत्तामा पुग्ने भर्याङ्ग मात्र बनाएपछि पूर्व एकीकृत माओवादी छिया छिया हुन पुग्यो । यसमा पनि देश जनताका लागि केही गर्लाकि भन्ने अपेक्षा गरिएका प्रचण्डहरुको सुविधाभोगी जीवनशैली र प्रवृत्तिका कारण सिंगो माओवादी पार्टी नै तहसनहस बन्यो र देश र भोकानांगा जनताको भविष्य लथालिंग भयो । प्रचण्डहरुले आफ्नो निहित स्वार्थका कारण जनयुद्धताका आदिवासी जनजातिहरु, पिछडिएका निमुखा जनतामाझ गरेको प्रतिबद्धता अनुरुपको संघीय संरचना हुँदैन भन्न थालेका प्रचण्ड एण्ड कम्पनीले केही समयपछि –“यो मुलुकमा कुनै पनि खालको संघीयता उचित हुँदैन भन्यो भने पनि आश्चर्य नहुने’ राजनीतिक विश्लेषकहरु बताउछन् । यदी विश्लेषकहरुको यो अनुमान सही सावित भयो भने संघीयताको चर्काे आलोचना गर्दै आएका चित्रबहादुर केसी, कमल थापाहरुकै पथमा उनीहरु विलिन नहोलान् भन्न सकिन्न । विगतमा आफुले जनतासँग गरेका क्रान्तिकारी प्रतिबद्धताहरुबाट एकपछि अर्काे गर्दै पछाडि हटेर एमाले पथमा विलय भइसकेका छन् । यता कांग्रेस र पूर्व एमालेका अधिकांश नेताहरु अहिले पनि भित्री रुपमा संघीयता हुनुहुँदैन भन्ने धारमा नै बढी देखिएका छन् ।

« PREV
NEXT »

यसमा तपाइको मत