Latest News

यस्तै पाराले छुवाछुतको अन्त्य होला र ?

काठमाडौं÷छसस । हिन्दू धर्ममा समेत वर्जित जातपात, छुवाछुत, उचनीच जस्ता अपमानजनक र तुच्छ परम्पराको थालनी गर्ने प्रवृत्तिनै छहरा साप्ताहिकको शब्दकोषमा ‘ब्राह्मणवाद’ उल्लेख छ । र मूल रुपमा यो प्रवृत्ति नै ब्राह्मणवाद हो । छुवाछुतको अन्त्यको लागि लिखितममा उल्लेख र जतिनै स्वांग पार्दै तारे होटलहरुमा सभा, सम्मेलन गरेपनि यसको निराकरण किमार्थ हुन सक्दैन भन्ने कुरा पश्चिम नेपाल सुर्खेत, कालिकोट, जाजरकोट, डोल्पा, जुम्लालगायतबाट ललितबहादुर बुढा, विष्णु प्रसाद न्यौपाने, राजेन्द्र कार्की, टेकबहादुर शाही, नन्दराम जैसी र जीवन सेजुवालले संकलन गरेको रिपोर्टलेनै पुष्टि गरेको छ । उनीहरुले संकलन गरेको रिपोर्टका अनुसार चुलो छोएको निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो ।
गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएको कारण उनी मारिइन् । उनी वडा नं. ९ की सदस्यसमेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे । कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन् । कार्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ ।
सरकारी तवरबाट छुवाछुतमुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौ गैरसरकारी संस्था पनि सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन । अन्तरजातीय विवाह, मन्दिर प्रवेश र विद्यालयमा हुने विभेदका कारण दलित थप हिंसा भोग्न बाध्य छन् । चुला छोएकै निुहँमा सुर्खेतको कुनाथरीमा केही समयपहिले एक बालकमाथि निर्मम कुटपिट भयो । कथित उपल्लो जातिको कुटपिटबाट बालक भीमबहादुर विक गम्भीर घाइते भए ।
सुर्खेतकै साटाखानीमा सार्वजनिक धारा छोएको आरोपमा स्थानीय टीकाकुमारी मिजारमाथि निर्घात कुटपिट भयो । अघिल्लो वर्ष असारको घटना हो यो । कथित माथिल्लो जातिको आक्रमणबाट मिजारलाई आफन्तले बल्लतल्ल बचाए । उनले नयाँ जीवन पाइन ।
प्रहरीले जातीय विभेद गरेको भन्दै प्रहरीले मनकुमारी राई र उनका छोरा मनबहादुर राईलाई पक्राउ पनि गर्यो तर राजनीतिक दबाबमा यो घटनामा पनि मिलापत्र भयो । पीडितले नै बयान बदलेपछि पीडक हिरासतमुक्त भए । पीडितले कानुनी न्याय पाउने बाटो नै बन्द भयो ।
सामाजिक चेतनाको कमी, धार्मिक अन्धविश्वास, कानुनी सजाय नहुँदै मुद्दा मिलापत्र र पीडितले न्याय नपाउने अवस्थाका कारण यस्ता घटनाहरु बढ्दै गएको दलित अधिकारकर्मी खगिसरा वली बताउँछिन् । पीडकलाई कानुनी सजाय भएको नजिर स्थापित नहुँदासम्म यस्ता घटनामा कमी नआउने उनको भनाइ छ । कर्णालीमा जातीय छुवाछुतका घटना कम नभएको र जातीय विभेदकै कारण दलितमाथिको आक्रमण र सामाजिक बहिष्कार नरोकिएको दलित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको तथ्यांकले पनि देखाएको छ ।
यसैगरी विभेदको चरम नमुना कालिकोटमा देख्न सकिन्छ । यहाँ दलितले जन्ती र मलामी समेत पाउँदैनन् । दलित भने अरुको जन्ती र मलामी जान्छन् । तर कथित उपल्लो जातिका व्यक्तिले पैंचो तिर्न जान्दैनन् । अरु जातिकाले दलितलाई बहिष्कार गर्दै आएका छन् ।
देशमा परिवर्तन आयो भन्छन् । हामीले चाहिँ थाहा पाएका छौनौ, नरहरिनाथ गाउँपालिका लालुनिवासी रतनसिंह दर्जी भन्छन्, ‘गाउँमा छुवाछुत अहिले पनि उस्तै छ । हामी दलितले त शुभकार्यमा जन्ती र मर्दा मलामी नपाउने अवस्था छ ।’
नेपाल राष्ट्रिय दलित समाज कल्याणका जिल्ला संयोजक वीरबहादुर तिरुवा भन्छन् ‘जिल्लामा छुवाछुत उस्तै छ । धार्मिक संस्कारका कारण पनि दलितले विभेद सहनु परेको छ । सार्वजनिक कार्यक्रममा पनि दलितको सहज पहुँच छैन । नेतृत्व स्वीकार गर्न पनि समस्या देखिएको छ ।’
छुवाछुत अपराध हो भनेर सिकाउने थलो स्कुल हो । तर कर्णालीका स्कुलमै छुवाछुत छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकाका स्कुलमा छोइछिटो बारिन्छ । दलित विद्यार्थीले छोएको खाजा गैरदलितले नखाएपछि यहाँका विद्यालयले दिवा खाजा नै बदलेका छन् । कर्णालीका हिमाली जिल्लामा प्राथमिक तहका बालबालिकालाई दिवा खाजाको व्यवस्था छ तर विद्यालयमा पकाइने खाजा दलित बालबालिकाले छोएको भन्दै गैरदलितले खान मान्दैनन् । अहिले पकाउन मिल्ने खाजा छोडेर सुख्खा खाजाको व्यवस्था गर्न थालिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको रावतबाडामा रहेको धौलागिरी आधारभूत विद्यालयका बालबालिका सुख्खा खाजा खाइरहेका छन् । दलितले छोएको खाजा नखाने गैरदलित बालबालिकाले अडान लिएपछि आफुहरुले अहिले सुख्खा खाजा मात्र दिने गरेको शिक्षक कर्ण विकले जानकारी दिए ।
अन्तरजातीय विवाह गर्दा बहिष्कृत हुनुपर्ने घटना पनि त्यतिकै देखिन्छ । जाजरकोटको जुनीचाँदे–५, गर्खाकोटका गणेशकुमार चँदारा र ज्योति शाह तीन वर्षदेखि सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन् । उनीहरुको ‘अपराध’ थियो, अन्तरजातीय विवाह गर्नु । दलितसँग विवाह गरेको भन्दै माइती पक्षले धम्की दिएपछि यो जोडी विवाह गरेको चार वर्षसम्म पनि आफ्नो घर जान पाएको छैन ।
सदरमुकाममा कोठाभाडा लिएर उनीहरु गुजारा चलाइरहेका छन् । २०६७ सालमा गणेश १७ वर्षका थिए । ज्योति १५ वर्षकी । त्यही साल असार २९ गते ज्योति भागेर गणेशको घर आइन । तल्ला जातको केटासँग विहे गरेको भन्दै तत्काल माइती पक्षले उनलाई जबर्जस्ती फिर्ता लगे । गणेशलाई कुटे । परिवारलाई धम्क्याए । तर, उनीहरु २०७२ कात्र्तिक ९ गते पुनँसँगै मर्नै सँगै बाँच्ने कमस खाँदै गाउँबाट भागे । माइती पक्षले सम्बन्धविच्छेद गराउने र आक्रमण हुन सक्ने डरले आफुहरु गाउँ जान नसकेको गणेशले बताए । विद्यालयले स्थानान्तरण समेत नगरिदिएपछि उच्च शिक्षा पढ्ने धोको पुरा हुन नसकेको उनीहरुको गुनासो छ ।
मुगुमा पनि अन्तरजातीय विवाह गरेको जोडी परिवारबाटै तिरस्कृत भएका छन् । खत्याड गाउँपालिका–४, पैखुकी लक्ष्मी थापाले पुरन विकसँग एक वर्षअघि विहे गरिन् । पैखुकै सुशीला थापाले हिगोटीका धनमान विकसँग प्रेम विवाह गरिन् । यी जोडी अहिले सामाजिक बहिष्कारमा परेका छन् । माइतीले छोरीहरुलाई गाउँमा प्रवेश नै दिएका छैनन् । दलितसँग विहे गरेकै कारण अछमपुरा रावलले १० वर्षदेखि माइतीको आँगनमा टेक्न नपाएको पीडा सुनाइन् । थुप्रै जोडी विस्थापित जीवन बिताउन बाध्य छन् ।
जुम्लाको कनकासुन्दरीस्थित गोठिज्यूलामा मुनबहादुर परियारमाथि गतवर्ष चुल्हो छोएको निहुँमा आक्रमण भयो । तर, यो घटना प्रहरी र अदालतसम्म पुग्नै सकेन । स्थानीय ठालु र नेताहरुको दबाबपछि पीडित मुनबहादुरले पनि उजुरी दिने आँट गरेनन् । अन्ततः कानुनी उपचारबिनै घटना सेलायो ।
यसरी अधिकांश छुवाछुत र विभेदका घटना गाउँमै मिलापत्र गराइन्छ । यसबाट पीडितले कानुनी न्याय पाउने बाटो नै बन्द हुने गरेको दलित अधिकारकर्मी सन्जुसि विश्वकर्मा बताउँछन् । ‘गाउँमा घटना नभएका होइनन्, उजुरी नआउँदा समस्या भइरहे छ,’ जुम्लाका इन्स्पेक्टर प्रकाश केसीले भने, ‘विभेदका घटना दलितले सहेर बसेका छन् । विभिन्न दबाब र प्रभावमा मुद्दा गाउँमै मिलापत्र हुन्छ ।’ उच्च अदालत सुर्खेत इजलास जुम्लाका श्रेस्तेदार इन्द्रकुमार खड्काले जातीय छुवाछुतसम्बन्धी घटना गाउँमै मिलाउने र उजुरीको रुपमा कानूनी निकायसम्म आउन नदिने प्रवृत्ति बढेको बताए ।
माथिको कुराले नेपालको कानून दैवले जानुन् भन्ने उखानलाई चरितार्थ गर्नेहरुको बाहुल्यता रहेकोले  हाम्रो मुलुकमा अझै छुवाछुत र जातपातको भेदभाव निमिट्यान्न हुन सकेको छैन भन्ने प्रशस्त आधारहरु पाइन्छन् । लिखितममा सबै कुरा निमिट्यान्न भए पनि व्यवहारमा नभएको स्पष्ट छ । छुवाछुत उन्मुलन र दलित उत्थानका नाममा खोलिएका संघसंस्थाहरुले पनि छुवाछुत जस्ता सामाजिक कुरिती हटाउने नाममा केवल हरियो डलर पचाउने कार्य मात्र गरिरहेको छ । अब छुवाछुत उन्मुलनको नाममा यसरी कही कसैले पनि जेमन्त गर्न नपाउन भन्नका लागि स्वयं दलित बुद्धिजीवी, पत्रकार, वकिल र आम नागरिकहरुले नै गम्भीर बन्नुपर्ने भएको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत