अहिले नेकपा स्थायी समितिको बैठकमा अध्यक्षद्वयको कार्यशैली प्रति आपत्तिजनाउँदै नेकपाका प्रभावशाली नेताहरुले ९ रेक्टर बराबरको कम्पन दिएका छन् । पार्टी एकतापछि पहिलो पटक राजनैतिक र सांगठनिक विषयमा छलफल हुने क्रममा शुरुवातमै सदस्यहरुले द्वय अध्यक्ष माथि आक्रोश पोख्दै नेताहरुले ओली र दाहालले पेश गरेको राजनैतिक र सांगठनिक विषयको धज्जीमात्र उडाएनन्, प्रदेश कमिटि, स्थानीय तह लगायत कमिटि बनाउँदा तीव्र गुटबन्दी गरेको दोहोरो तेहरो मापदण्ड अपनाईएको, पार्टीमा नातावाद कृपावाद हावी गराएको जस्ता गम्भीर आरोप लगाएका छन् ।
प्रभावशाली नेताहरुले दुई पार्टीको एकता पछि गुटबन्दीले झनै प्रश्रय पाएको एकताको नाममा फरक मत राख्ने नेता तथा कार्यकताहरुलाई भ्याकुरो खेदाई गरेको आरोप समेत लगाएका छन् । स्थायी समितिको सो बैठकमा ओलीको कार्यशैलीको विरोध गर्दै १६ पृष्ठको लिखित प्रतिवेदन प्रस्तुत गरेको नेता बामदेव गौतमले ‘एक व्यक्ति एक पदको’ अवधारणा लागु गर्नुपर्नेमा जोड दिएका छन् । गौतमले मात्र नभएर गौतमपछिका वक्ताहरुले समेत नेतृत्वप्रति तिव्र असन्तुष्टि जाहेर गरेका छन् । गौतमपछि बोल्दै घनश्याम भुषालले ओली सिद्धान्तबाट विचलित भई अपवित्र गुटबन्दीको शैलीमा अघि बढेको आरोप लगाउँदै ‘थुक, रगत, खकार, वीर्य टेष्ट गरेर मेरो गुटको होकी होइन भनेर पार्टी भित्र छुट्याउँने काम गरिरहेका छन् ।’ त्यसैगरी अर्का प्रभावकारी नेता तथा स्थायी कमिटि सदस्य भीम रावलले देशका कतिपय भुभागमा देखा परेका विखण्डनकारी तत्व बारे सरकार र पार्टी मौन रहेकोमा आपत्ति जनाउँदै, राष्ट्रियताका सवालमा द्वय अध्यक्षद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदन फिक्का सावित भएको बताए । उनले अध्यक्षद्वयको राजनैतिक प्रतिवेदन अधुरो र अपुरो रहेको भन्दै १४ पृष्ठ लामो फरक मत समेत राखेका छन् । आफ्नो लिखित फरक मतमा –काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागीताले देशको नुर गिरेको टिप्पणी गर्दै ‘युनाइटेड पिस फेडरेसन’को कार्यक्रममा नेता तथा नेपाल सरकारको सहभागिता हुनु राजनैतिक कुटनीतिक रुपमा सोह्रै आना गल्ती भएको टिप्पणी गरेका छन् । आफ्नो फरक मतमा रावलले सार्वजनिक यातायातमा रहेको सिन्डिकेटमा सरकार झुकेको र स्वेच्छाचारी ढंगले कर्मचारी खटाउँदा परेको असरबारे समेत पार्टी नेतृत्वको खुलेर प्रतिरोध गरेका छन् । उनको दस्ताबेजमा पार्टी संगठन निर्माण र सरकारको समिक्षा पनि उल्लेख छ । त्यसैगरी रावलले पार्टी एकीकरणपछि संगठनात्मक अवस्था र नौ महिना सरकार सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाउनु पर्ने माग राखेका छन् । राष्ट्रियताका सवालमा निर्वाह गर्नुपर्ने भूमिका, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र सरकार चलाउन पार्टी नेतृत्व र प्रधानमन्त्री दुवै असफल रहेको उनको प्रतिवेदनमा उल्लेख छ । नेता रावल पनि गौतमले झै एक व्यक्ति एक पद अनुसार अघि बढ्नु पर्ने माग अगाडि सारेका छन् ।
अन्य नेताहरुले पनि पार्टीमा कसैलाई जिम्मेवारीको खातैखात, कसैलाई छिडिमुनिको बास बनाइएको, पार्टी एकताको नाममा एउटा विचार समूहका नेताहरुलाई वेवास्ता गरेको, एकताले पूर्ण रुपनलिदै नेतृत्वले पार्टी सिध्याउने खेल खेलेको, आलोचकको जरै मास्ने काममा नेतृत्व लागेको भन्दै अध्यक्ष द्वयद्वारा प्रस्तुत प्रतिवेदन कामै नलाग्ने भुत्ते खुकुरी झै भएको टिप्पणी गरेका छन् ।
यसरी पहिलो गाँसमै ढुंगा भनेझैं एकतापछि पहिलो पटक बसेको स्थायी कमिटिको बैठकमै प्रभावशाली नेताहरुले पार्टी नेतृत्वको असक्षमताको खरो रुपमा टिप्पणी गर्दै माओवादी केन्द्र र एमालेबीचभएको पार्टी एकताको औचित्य माथि समेत प्रश्न चिन्ह खडा गरेका छन् ।






Social Buttons