“इतिहास भूतकालिन राजनीतिक हो र राजनीतिक वर्तमा न इतिहास हो” –फ्रिम्यान
एकताका नौलाखा गन्नै नसकिने अर्थमा किराँती भनेर कहलिने हामी भुरे–टाकुरे राज्यमा विभक्त भएकोले बाईसी चौबीसी राज्य भनेर पनि चिनिन्थ्यौं । तीनै बाईसी चौबीसी राज्यलाई एकीकरण गरेर विशाल नेपाल निर्माणको बहानामा हामीलाई यो भूमिबाट सदाको लागि अपुताली पार्न नखोजिएको होइन । त्यसैले त आजसम्म पनि बुढापाकाहरु भन्ने गर्छन् ‘किरात र दुवो उस्तै हो ।’ कति धुरुधुरु रुँदै यो धरतीबाट सदाको लागि पलायन भए, तर बहुसंख्यक, हाम्रा पुर्खाहरु आफ्नो भूमिको माया मोहले गर्दा लाखौं हण्डर खपेर पनि यही भूमिमा टिी नै रहे । जन्मभूमिमा लेपासिई नै रहे । आफ्नो पुर्खाका पसिनाले ओवानिएको उर्बर भूमिमा जीवन रोपी नै रहे प्रतिरक्षाको खातिर पूर्वजको रगतले पोतिएको डाँडाकाँडा पाखापखेरुलाई अँगालो हालेर बसीनै रहे ।
यी भूमिपुत्रहरुको हृदयको अन्तरकुनामा लागेको घाउ बल्झिने पो होकि फेरि ? भन्ने भय र त्रासले भोक, निद्रा हराम भएको शासकले बडो चलाखीका साथ । एकताका दक्षिण अफ्रिकाको कुहिरे शासकले कालाहरुलाई अमेरिका लगेर बोकाको भाउमा बेचेजस्तो भूमिपुत्र युवाशक्तिहरुलाई भाँडा लिएर, इष्ट इन्डिया कम्पनीलाई दिन सुरु गर्यो । तत्कालीन शासकको चाहना थियो यी युवा शक्तिहरु पुतलीजस्तै आगोमा होमिएर मरुन, नाकाम सावित होउन् । अनि यिनीहरुमाथि एकलौटी शासन गरी रहुँ ।
अफसोस आधुनिक बम्गोलाले सुसज्जित शत्रुको किल्ला एउटा खुकुरीको भरले ध्वस्त पारेको देखेर संसार निल्न हिडेको बेलायत । जो यो संसारमा बेलायती साम्राज्यको घाम कहिल्यै अस्ताउने छैन भनेर घमण्ड गथ्र्याे ले बडो श्रद्धाको साथ शिर झुकाएर ‘वीर गोर्खा’ भन्दै सलाम ठोक्यो । आज पनि संसारमा नेपालको नाम नसुन्ने होलान् तर ‘वीर गोर्खा’ नौलो शब्द लाग्ने मानिस विरलै पाइएला !
नेपाली कांग्रेसका फुँई नगरे हुन्छ, आन्दोलनको घोषणा गर्दैमा २००७ सालमा निर्णायक युद्ध हामीले लडेका थियौ भनेर । कसैलाई पच्दैन भने ‘सत्य तितो हुन्छ’ । तत्कालीन राणा शाहीको जातीय भेदभावै नीति, भाषिक, धार्मिक, सांस्कृतिक अतिक्रमणको कारणले आदिवासीहरु स्पष्ट थिए । भित्रभित्रै राणा शाहीविरुद्ध जुर्मुराईरहेका थिए । सहनशीलताको बाँध फुट्नै लागिसकेको थियो । यही मौका छोप्न सफल भयो–नेपाली कांग्रेस । धरती पल्टिएझै आदिवासीहरु राणाशाहीविरुद्ध खनिए । एकै गर्जनमा राणा शाही छुलछुली मुत्न थाल्यो । आन्दोलन नेपाली कांग्रेसको हातबाट फुत्किए आदिवासीहरुको पोल्टामा परिसकेको थियो । राजा, राणा र कांग्रेस सबैको काशीवास हुने छाँटकाँट आइसकेको थियो । जसरी हुन्छ, आन्दोलन रोक्नुपर्ने निचोडमा पुगेर राजा राणा, कांग्रेसले त्रिपक्षीय सन्धि गरे । मोहन शमशेरले सन् १९५१ जनवरी ८ मा स्वीकार गरेको घोषणा गरे जसलाई दिल्ली सम्झौता भनिन्छ ।
‘गर्ने भन्ने हनुमान, पगरी गुथ्ने ढेडु’ भनेजस्तो बीपीले गृहमन्त्री पाए । आदिवासी, क्रान्तिकारी आन्दोलनका एक हस्ती(जो) लिम्बुवान् स्वायत्तता चाहन्थे) मन कुँडाउदै भए पनि प्रहरी अधिकृतमा चित्त बुझाएर बसे । त्यसताकाका क्रान्तिकारी किराँतहरु दिल्ली सम्झौतादेखि चित्त नबुझेर बीपीसँग बेङिठदै घर फर्किए । अनि जाँड धोक्दै बसे । दिल्ली सम्झौता धोका हो । प्रजातन्त्र बहाली नभएसम्म हामी आन्दोलन जारी राख्छौ भनेर काठमाडौं तीन दिनसम्म कब्जा गर्ने क्षमतावान् किराँत योद्धाहरुलाई प्रजातन्त्रकै कथित ठेकेदारहरुले चीनतर्फ लखेटे । तत्पश्चात् जनमुक्ति सेना मलिनो अनुहार लिएर घरघर फर्किए । अन्ततः २०१७ सालमा पार्टीमाथि लगाइएको प्रतिबन्धसँगै, साझा र बफादारीको अर्काे नाम हो आदिवासी जनजातिको छाप्राछाप्रा चाहर्दै हिड्ने थाले छद्यभेषी नेताहरु । निरंकुश शासनको विरुद्ध उक्साउनसम्म उक्साए । खुकुछिन्ताङ्गका भारी बोकेर जीवन धान्ने राईहरुलाई बलीको बोको बनाए । लालाबालाहरु भोकभोकै मर्ने अवस्थामा पुगे । पिस्करमा आदिवासी मकै भुटाई भुटीए । टिम्बुर बोटेमा अधिकांश गुरुङ्गहरुको निमर्मताकासाथ हत्या गराए । रत्न बान्तावाहरुजस्ता उदाउदो हाम्रो भविष्यको तारा निमोठिए र पनि खै के पायौ हामीले ? खुकुछिन्ताङ्ग उजाडै छ । पिस्करको घाउ चहराइरहेको छ । मलमपट्टि छैन । टिम्बुरबोटे त एकादेशको कथाजस्तो भएको छ । रत्न बान्तावा फेरि जन्मेलान् नजन्मेलान् भविष्यकै गर्भमा छ । अरस्तुको विचारमा ‘असमानता नै क्रान्तिको मूल कारण हो’ । हो, यो देशमा असमानता भाषिक धार्मिक, सांस्कृतिक असमानता छ । राजनैतिक, सामाजिक, आर्थिक असमानता छ । जातीय असमानता छ । बहुदलीय व्यवस्था असमान नै असमानताको पर्यायवाची भएको छ । कुनै पनि देशभक्त र सच्चा नागरिकले देशको हालत टुलुटुलु हेरे बस्न सक्ने अवस्था छैन ।
इतिहास साक्षी छ । सिङ्गै दक्षिण अमेरिका हल्लाउने चेग्वाराजस्ता हस्ती भ्याकुरा खेदाइमा ह्यापाक–ह्यापाक गर्दै बालिभियामा मारिए । गोञ्जालो जस्तो पेरुभिया कम्युनिष्टहरुको ढुकढुकी चिसो छिँडीमा ढुसी परेर सडिरहेका छन् । मदन भण्डारीजस्ता माक्र्सवादी लेनिनवादीलाई समयसापेक्ष पारदर्शी ढंगले परिमार्जन गर्न सक्ने कुसाग्र विवेक भएका व्यक्तित्वलाई खेला–खेलाई त्रिशुलीमा गुल्टाइयो । यसोभन्दा तपाईहरुलाई लाग्ला यो कायरको बकबक हो । हुतिहारा मनसाय हो । मित्रहरु हो भन्नुसतः छिर्के दाउ लगाउने कार्यहरुले नै यो देशको लगाम हातमा लिएका छन् कि छैनन् ?
सँधैसँधै हामी कजिएका छौं कि छैनौ ? बाबुराम भट्टराई र प्रचण्डले दिउँला भनेको जातीय स्वायत्तताको पापाको लोभमा हौसिएर आदिवासीहरु जुरुक्कै नउठेका कहाँ हुन र ? उनीहरुका आह्वानमा जातीय स्वायत्तताको प्राप्तिको लागि चिहान देखि जुरुक्कै उठे, मस्तसँग निदाएका घायल सिंह–सिंहिनीझै नब्युझिएका होइनन् । दोहोरो भिडन्तमा किरातीहरु अमिम न्यूज सरी भकभकी ढले, मूलवासी काखहरु रित्तिन थाले, कति सिउदो पखालीए, नाडीको चुरा फोरिए, गलाको पोते छिनालिए । आशा र भरोसा लाग्दो हाम्रा युवा प्रतिमाहरु कहिल्यै नफर्किने गरी ढले । विडम्बना अझै पनि यी ब्वाँसाहरु हरेक चुनावमा स्यालको हुँइया जस्तै वन, पाखा, डाँडाकाँडा, आदिवासी, जनजाति हितको नारा उराल्दै हिड्न छाड्दैनन् । आदिवासी उत्थानको सवालहरु उनीहरुको घोषणा पत्रहरुमा सिमित राख्दै टालटुले नीति अवलम्वन गरेर आदिवासी समुदायहरुलाई अझै अलमलाई रहेका छन् । आदिवासीहरुले यसलाई गम्भीरतापूर्वक ध्यान दिने पो हो कि ? सबैमा चेतना भया ।





Social Buttons