Latest News

गरिबको लागि दशा बन्दैछ ‘दशै’

काठमाडौं/छसस । चरम भ्रष्टाचार, सामाजिक विकृति, विसंगति, हत्या, बलात्कार, व्यभिचार यहाँ सामान्य कुरा जस्तै हुन थालेका छन् । ऐन, कानून, रिति–रिवाजका कसैलाई प्रवाह छैन । भएका ऐन कानूनहरुको सबैले आआफ्नै तालमा व्याख्या गर्ने र ऐन कानुनको अपहेलना गर्ने प्रवृत्ति बढेको छ । कानूनी राजको खिल्ली उडाउने काम भइरहेका छन् । सत्ताको तालाचाबि कब्जा गरेर बसेकाहरु भ्रष्टाचारको दलदलमा फसेका छन् । दशैको मूखमा हरेक उपभोग्य वस्तुहरुको बजार भाउ अनियन्त्रित रुपबाट वृद्धि भइरहेका छन् । अझ आकाशिएको चर्काे मूल्य तिरेर पनि निमुखा सर्वसाधारणले सहज र सरल रुपबाट दैनिक उपभोग्य सामाग्री पाउन सकिरहेका छैनन् । उपभोग्य वस्तुको कृतिम अभाव खडा गरेर कालाबजारी गर्नेहरु सर्वसाधारणलार्य सास्ती दिएर, मजा लुटिरहेका छन् । सम्बन्धित निकायहरुले बजारको प्रभावकारी अनुगमन नगर्दा कालाबजारीहरुले एकछत्र दादागिरि मच्चाईरहेका छन् । न्यून आयस्तर भएका सर्वसाधारणलाई हातमुख जोड्न धौ–धौ परिरहेको छ ।
यसरी अनियन्त्रित रुपमा पेट्रोलियम पदार्थ यातायातको भाडादेखि हरेक उपभोग्य वस्तुहरुको मुख्यवृद्धि थेग्नै नसक्ने गरी बढिरहँदा पनि सामान्य घटनाको विषयलाई लिएर सडकमा तोडफोड, नारा जुलुस, ढुंगामुडा गर्ने राजनैतिक दलका कार्यकर्ता विद्यार्थी गुमनाम छन् । असुरक्षा, महँगी, भ्रष्टाचार, लुटपाट, बलात्कार, हत्याहिंसा, चोरी डकैती जस्ता सामाजिक असुरक्षाका घटनाहरु श्रृंखलाबद्ध रुपमा बढिरहेकै छन् । रोकथाम गर्ने, सुरक्षाकर्मी प्रहरीनै यतिबेला ‘रक्षक नै भक्षक’ भएको देखिएकाले, आम नागरिकहरुले प्रहरी प्रति पनि रत्तिभर विश्वास गर्न छाडेका छन् ।
राज्यमा सुशासनको कतिसम्म खडेरी छ, सुरक्षा निकायको उच्च पदस्थ व्यक्तिहरु कतिसम्म छाडा छन्, तस्करी एवं भ्रष्टाचारले कसरी प्रश्रय पाइरहेका छन् भन्ने कुरा एकपछि अर्काे घटेका घटनाहरुद्वारा नै अवगत गराउँदछ । तस्करीका ३३ किलो सुन प्रकरणमा होस्् वा मुलुकव्यापी रुपमा घटेका जघन्य अपराधिक घटनाहरुमा नै  किन नहोस् बहालवाला उच्च पदस्थ प्रहरी अधिकारीहरुकै संलग्नता देखिनु देशमा कस्तो शान्ति सुव्यवस्था छ, सहजै अनुमान गर्न सकिने विषय बनेको छ । सुरक्षा निकायकै उच्च व्यक्तिहरुबाटनै मुलुकमा तस्करी धन्दा र हत्या बलात्कारजन्य घट्नामा संलग्न हुनु लाजमर्दाे कुरा भएको छ । ३३ किलो सुन प्रकरणलाई वेवास्ता पार्दै जानु, हत्यामा संलग्न भएको भनि सम्मानित अदालतले पुष्टि गरिसकेको दोषीलाई उन्मुक्ति दिनु राजनीतिक नेतृत्व नांगो रुपले लागि पर्नु हो । यो त एक प्रतिनिधि घटनाको उदाहरण मात्र हो । यी र यस्ता घटनाहरु बारम्बार दोहोराइरहेका थुप्रै उदाहरणहरु नभएका होइनन् । यस्तो अवस्थामा कसरी सुशासनको कल्पना गर्न सकिन्छ ?
जति जति हिन्दुहरुमा महान पर्व नजिकिइदै छ, त्यतिकै रफ्तारमा दैनिक उपभोग्य वस्तुको भाउ आकाशिने क्रम बढ्दो छ । पर्व र चाडलाई लक्षित गरि साना–ठूला व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मुल्य वृद्धि गर्दैछन् । सरकारी अनुगमन फितलो हुँदा व्यापारीले यसरी मनलागी मूल्य असुल्ने गरेको देखिन्छ ।
यातायात व्यवसायीले १० प्रतिशत यातायात भाडा बढाएको बहानामा पछिल्लो समयमा दैनिक उपभोग्य वस्तुमा चिनी, खाने तेल, आटा, मुसुराको दाल, राजमालगायतका वस्तुमा वृद्धि भएको खुद्रा व्यापारी श्याम अधिकारीले बताए । अधिकारीले भने ‘हामीले ठूला व्यापारीबाट सामान ल्याउने हो, उनीहरुले हामीलाई नै खाद्यवस्तुको मूल्य बढाएपछि हामी खुद्रा व्यापारीले दुई, चार रुपैया नाफा खान मूल्य बढाउँनैपर्छ ।’
खाने तेल प्रतिलिटर १० देख ि१५, चिनी प्रतिकेजी ५ देखि १०, मुसुराको दालमा १ रुपैयाँ र राजामाको दालमा १० रुपैयाँ बढेको उनको भनाइ छ । अन्य खाद्यवस्तुमा पनि ५ देखि १० रुपैयाँ बढेको छ । पछिल्लो यातायात व्यवसायीले यातायातमा १० प्रतिशत भाडा बढाएका कारण उपभोग्य वस्तुमा मुल्य वृद्धि भएको हो ।
ठूला व्यापारीले साना व्यापारीलाई विभिन्न बहाना बनाउँदै सामानको मूल्य बढाएर हामीलाई विक्रि गर्ने भएकाले हामीले पनि बाध्य भएर मूल्य बढी लिनुपरेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय बजारमा डलरको मुल्य वृद्धि भएको र यातायात व्यवासायीले १० प्रतिशत भाडा बढाएको बहाना बनाउँदै सामानको बढी मुल्य लिन थालेपछि बजार महँगिएको अध्यक्ष श्रेष्ठले बताए ।
विगत १४ वर्षदेखि टुकुचामा तरकारी व्यापार गदै आएकी लक्ष्मी खड्काले सबै तरकारी ठूला व्यापारीले बढाएको बताइन् । अर्काे तरकारी व्यापारी अजुन सुवेदीले ठूला व्यापारीले महँगोमा दिने भएकाले महँगोमै बिक्रि गर्नुपरेको बताए ।
सरकारले बजार अनुगमन बलियो नबनाउँदा व्यापारीले दशैको मुखमा आएर मनपरी मूल्य लिएर उपभोक्ताको ढाड सेकी दशैलाई दशामा परिणत गराएका छन् । सरकारको बजार अनुगमन एकमदै निम्न हुनु, र अनुगमन भए पनि कानुनी कारवाही नगरी छोडिने प्रवृत्तिले पनि व्यापारीले खाद्यवस्तुदेखि हरियो तरकारी मनपरी मुल्य लिएर उपभोक्तलाई ठग्दै आएको देखिन्छ । यस्तो अवस्थामा सरकार निरिह देखिएको छ ।
« PREV
NEXT »

यसमा तपाइको मत