Latest News

अत्यन्त कष्टकर समय पार गर्दै, छहरा ४२ वर्षमा प्रवेश


आजदेखि छहरा साप्ताहिक ४१ वर्ष पुरा गरी ४२ वर्षमा प्रवेश गरेको छ । यो पुनितः अवसरमा सर्वप्रथम हामी हाम्रा समस्त पाठक तथा शुभेच्छुकहरुमा हार्दिक आभार प्रकट गर्दछौ्रं ।
नेपाली पत्रकारिता जगतमा ४१ वर्ष यता देखि निरन्तर निर्भिक निष्पक्ष तथा यथार्थपरक समाचार र विचार सम्प्रेषण गर्दै आइरहेका छौं । जो स्पष्ट रुपमा राष्ट्रको चौथो अंगको रुपमा क्रियाशील रहेको छ । छहरा साप्ताहिकले देशको भौगोलिक विसमताका अलवा जातीय असमानताका यथार्थतालाई प्रष्ट रुपबाट नेपाली समाजमा सुसूचित गराउँदै आएको सर्वविदितै छ । यसका अतिरिक्त मुलुकको चौतर्फी विकास कार्यमा योगदान पुर्याउँन, सर्वप्रथम त जनता जनार्दनहरुमा जनचेतना जागरण गराउनु अपरिहार्य हुन्छ । सोही कुरोलाई शिरोधार्य गर्दै मुलुकमा आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित समुदायको उत्थान र प्रगतिको सवालमा राज्यले सक्रियता देखाउनु पर्ने सत्य, तथ्यमा छहरा प्रकाशन, प्रकाशनको आरम्भ देखि हालसम्म नै संघर्षरत रहँदै आएको जगजाहेरै छ । यही अठोटका साथ यो प्रकाशन निरन्तर अगाडि बढी रहेछ र पछिसम्म पनि बढ्ने दृढता व्यक्त गर्दछ । यो एक अठोट हो । यसलाई कसैले रोकेर रोक्न र छेकेर छेक्न सक्दैन । जसको प्रमाण ३० वर्षीय पंचायतीकालिन कार्यकालमा र त्यसपछिका बाहुनवादी पृष्ठपोषकहरुको दमनचक्र विरुद्ध छहराको संघर्षको इतिहास साक्षी छ । जुन बेला छहरा प्रकाशनलाई केही अतिवादी धर्मावलम्वी तथा जातिवादीहरुले जलाउने, च्यातिदिने मात्र होइन बन्द गराउने देखि लिएर पे्रस काउन्सीलको मूल्यांकनमा समेत नपार्नु टुपी कसेर लागेका थिए । जसको प्रमाण हामीसँग सुरक्षित छ । तर सत्य र वास्तविकताको अगाडि कसैको केही लागेन । छहरा साप्ताहिकले देशका बहुसंख्यक नेपाली जनताप्रति देखाएको हार्दिकता, प्रतिबद्धता र निरन्तरताको परिणति नै हो । यसबारे धेरै बखान गरिरहनु आवश्यक पर्ला जस्तो लाग्दैन । कारण पाठक स्वयं जानकार र बुझेकै छन् । छहराको प्रकाशन केवल मुलुकमा विद्यमान विसंगति, असमान व्यवहार, अन्याय अत्याचार, छुवाछुत तथा नीच उच जस्ता सामाजिक कुरिति, जातीय विभेद लगायतका स्वतन्त्र निर्भिक विभेदको विरुद्ध विशुद्ध तवरले कलम चलाउदै आएको कुरो यहाँ दोहोराई रहनु नपर्ला । यी विचार अवधारणा छहरा साप्ताहिक प्रकाशनको प्रारम्भ देखिकै अठोट हो । यो सदैव अजर रहने प्रण गर्दछौं ।
छहरा साप्ताहिकको उपर्युक्त सम्मतिका कारण यद्यपि देशका अल्पसंख्यक तर शासन सत्तामा रहनेहरुको इशारामा बेलाबखतमा बखत तवरले निष्पक्ष प्रकाशन विरुद्ध आवाज समेत उठाउने गरेका छन् । तर त्यस्तो विरोधका स्वरहरु एक्लो बृहस्पति सावित हुँदै गएका छन् । यो पनि छहरा साप्ताहिकका आफ्ना पाठक वर्गको न्यानो स्नेह र मायाको थप शक्ति कै उपज हो । अजय शक्तिको प्रारुप हो । जसलाई कसैले तर्साउन, भगाउन र हप्काएर गलहत्याउन सक्दैनन् यो नै छहरा साप्ताहिकको वास्तविक विशेषता हो ।
साँच्चै नेपालको इतिहास खोतल्ने हो भने लिखित रुपमा एक शब्द कुनै उल्लेख गरिएको पाइदैन, आदिमकालदेखि यहाँ बसोबास गर्दै आएका विविध मूलवासी, जनजातिहरुका सवालमा । नेपालको इतिहासमा शासकवर्गहरुले ती मुलवासी समुदायहरुमाथि शोषण, दमन, अन्याय अत्याचार, व्यभिचार र थिचोमिचो गर्नु बाहेक अन्य केही पाउन सकिन्न । तर इतिहासमा अंकित शासक वर्गहरुले आफ्नो लाभको लागि विविध जनजातिहरुलाई दुश्मनसँग युद्ध गराउने काममा प्रयोग गराउँदै आए, जसलाई निरन्तरता दिइराखेकै छन् ।
मुलुकमा विद्यमान विविध जनजातिहरुले समानुपातिक रुपबाट मौलाउने फस्टाउने अवसर पाउन पर्ने जस्ता सवालहरुबारे छहराले सुरुदेखिनै जोडदार रुपबाट कलम चलाउदै आएको छ । तर नेपाली जनजाति आदिवासी, उत्पीडित समुदायहरु वर्तमान गणतान्त्रिक युगमा समेत पन्चायती हत्कण्डामानै बाचिरहेका छौं । यही कारण छहरा साप्ताहिक आफ्नो जन्मकाल देखिनै आदिवासी जनजाति, दलित, उत्पीडित समुदायको नैसर्गिक हक हीत र अधिकारको सवालमा संघर्षरत रहेको कुरा विज्ञ पाठकहरुलाई अवगतनै छ । यसरी जातीय मुक्ति र उत्थानका निम्ति लागि परेको छहरा साप्ताहिक यो महिना देखि ४१ वर्ष पुरा गरी ४२ वर्षमा प्रवेश गरेको कुरा छहराका पाठकहरुलाई अवगत गराउन पाउँदा छहरा परिवार गौरावान्वित भएको छ । विगतका वर्षहरु यस प्रकाशनका निमित्त अत्यन्त कष्टकर रहे । जातीय मुक्तिको उद्घोष गर्ने पवित्र उद्देश्य बोकेर बन्दुकको दमनकारी नीतिलाई कलमले चुनौती दिन छहरा प्रकाशनले प्रजातन्त्रको छेलोखेलो कुरेन । पन्चायति निरंकुशतामा जर्जर दिनहरुमा समेत छहराले आदिवासी जनजाति, दलित, उत्पीडित समुदायको आवाज बुलन्द पार्दा जेल, नेलको यातना समेत भोग्नु पर्यो । बाक तथा प्रकाशन स्वतन्त्रता ऐन अन्तर्गत तत्कालिन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको कार्यकालमा यस प्रकाशनका सम्पादकले जेलको यात्रा भोग्नु परेको कुरो बारे आम पाठक अनिभिज्ञ छैनन् । यसरी छहरा प्रकाशन विरुद्ध अनेक कोणबाट चालिएका षड्यन्त्रहरुलाई चिर्दै यसले ४१ वर्ष व्यतित गरेको छ । बीच बीचमा छहरा माथि राज्यस्तरमै साम्प्रदायिकताको आरोप प्रत्यारोप लगाउने घृणित प्रयास पनि भोग्नु पर्यो । छहरालाई साम्प्रदायिक आरोप लगाएर शोषित, पीडितmm नेपाली जनजातिहरुको अधिकारलाई कुण्ठित पार्ने प्रयासमा षड्यन्त्रकारी हक भन्दा पनि तल ओर्ले । तर छहरा विचलित भएन । आम जनजातिहरुका नशा नशाका रगतले छहरा आफु विरुद्ध षड्यन्त्र गर्ने, षड्यन्त्रकारीहरुसँग प्रतिकार गरिनै रह्यौ, यद्यपि भोक र अभाव छहराको निम्ति अर्काे चुनौति थियो । अन्ततः समयले यो सावित गरि छाड्यो एक थरीका मानिसहरुले लगाएका आरोप झै छहरा साम्प्रदायिक थिएन । छहराले साम्प्रदायिकताको कहिल्यै पक्षपोषण गरेन । बरु छहरालाई साम्प्रदायिक भन्नेहरु स्वयमनै साम्प्रदायिक थिए र हुन् । त्यसैले साम्प्रदायिकता विरुद्ध आदिवासी, जनजाति मधेसी, दलित उत्पीडित समुदाय गोलबन्द छन् । आम आदिवासी, जनजाति, दलित उत्पीडित समुदायको सवालमा समर्पित यस छहरा साप्ताहिक ४१ वर्ष पुरा गरी ४२ वर्षमा प्रवेश गरेको सुखद अवसरमा जसरी विज्ञ पाठकहरुको न्यानो माया स्नेह, सहानुभूतिबाटै ४१ वर्षको संघर्षमय जीवन बिताउने प्रेरणा मिल्यो, त्यसैगरी दिनहरुमा पनि निरन्तरता पाउने अपेक्षा गर्दछौं ।

« PREV
NEXT »

यसमा तपाइको मत