मुलुकलाई अझै छुवाछुत जस्ता घटनाले कतिसम्म पिरोलेको छ भन्ने कुरा बाजुरामा घटेको घटनाले नै छर्लंग पार्दछ । छुवाछुत जस्ता अमानवीय घटनाले गर्दा पश्चिम नेपालको बाजुराको हिमाली गाउँपालिका २ नाति खोलाको एक परिवार ६ वर्ष यता देखि गाउनिकाला भएका छन् ।
२०६९ सालमा एक जना दलित जयलाल बुढाको घरमा पानी खाएको गाउलेले देखेपछि, अछुतलाई पानी खुवाएको भनेर जयलालको बुढाबुढीलाई गाउँलेले अछुत भन्दै व्यवहार गर्न थालेपछि, बुढाले गाउँनै छाडि दिए । गाउँमा बस्न नपाए केही छैन, छोराहरुसँग बस्न नपाउँदा भने मन रुन्छ गहभरी आँसु पार्दै वृद्ध जयलाल बुढाले यस सम्वाददातासँग दुःख बिसाए ।
जयलालका तीन छोरा–बुहारीहरु उनी भन्दा टाढा छन् । छोरा–बुहारीलाई पुरानो घरमा छाडेर उनी गाउदेखि धेरै पर बसाई सरेका छन् । सदरमुकाम देखि तीन दिनको पैदल दुरीमा रहेको सो गाउँपालिकामा यस्ता विषयको छिनोफानो अझै गाउँका ठालुले गर्ने गर्दछन् । यही ठालुका सिकार भएका हुन जयलाल बुढा । ठूला ठालुको निर्णयकै कारण, उनले पुख्र्याैली बस्ती छोडे । यसरी बस्ती छोड्ने गाउँमा धेरै छन्, एक्लो जयलाल भने हुदै होइनन् ।
‘मेरो श्रीमतिले गाउँमा बस्दा दलितको हातको पानी खाएको र हामी बस्ने घरको भूँइको तलामा दलित आएको र पानी खाएको देखेपछि, छिमेकीले त्यो दलित केटोसँग सल्केको आरोप लगाएर गाउँ छोड या स्वास्नी छोड भने पछि मैले गाउनै छोडिदिए’ जयलालले छहरासँग दुखेसो पोखे । उनलाई ‘दलित’ भन्दै गाउँमा एक्ल्याए, यातना दिदै धारा, कुला, घट्ट आदि कुनै पनि ठाउँमा जान प्रतिबन्ध लगाएपछि खोलाको किनारामा आएर जिविका चलाइरहेका छन् । नेपालको संविधान २०७२ को धारा २४ ले कसैलाई पनि छुवाछुत तथा जातीय विभेद गर्न नपाइने उल्लेख छ । तर बुढा लगायतका परिवारहरु अझै पनि छुवाछुत जस्ता कुरितीको उत्पीडनमा परिरहेका छन् ।





Social Buttons