Latest News

राई, लिम्बू, याख्खा किराती नै हुन्

छहरा साप्ताहिकबाट
काजिमान कन्दङ्वा
किराती भन्नाले आज भोलि राई लिम्बु र बढिमा याख्खासम्ममा मात्र सिमित गरिने परिपाटि बढ्दै गएको पाइएता पनि पौराणिक समयमा बाहुनबादि आदर्श मान्यता र मुल्यहरुलाई मान्य हिन्दुहरुले त्यस आदर्श मान्यता र मुल्यहरुमा बिश्वास नगर्ने समस्त आदिम जातिलाई अथवा तिब्बती बर्मी समुदायलाई वा हिमालय उत्तर र दक्षीणतर्फ बसोबास गरेको मंङ्गोल बंशज सम्पुर्णलाइ नै किरांत भन्ने गरेका थिए भन्ने कुरो उपलब्ध प्रमाणहरुको आधारमा मानि लिन सकिन्छ । मानि लिएका किरात जातिका सम्बन्धमा हजारौ बर्ष काठमाण्डौ उपत्यकामा शासन गर्ने किरांत बंश थिए थिएनन् ? थिए भने कस्ता कुन प्रकारका, कसरि ? भन्ने कुरा अझै खोजको बिषय बनेको छ तापनि उक्त किरांत बंशजकै अबशेषका रुपमा दाबि गर्ने जाति भने यीनै राई, लिम्बु, याक्खाहरु नै हुन् अरु छैनन् । यी दाबी, दाबी मात्र नभएर यसमा केहि तथ्यहरु छन् । जो आज स्पष्ट हुँदै आएको देखिन्छ । शक्ति संगम तंन्त्रको एउटा सूत्र अनुसार पश्चिमतर्फ काश्मिर काबुल देखि लिएर पुर्ब तर्फ कामरुप सम्म र उत्तर तर्फ त्रिबिष्टप भनेको भोट–तिब्बतको मानसरोबर देखिलिएर दक्षिण तर्फ दुई महासागर भन्नाले अरब महासागर र भारतीय महासागरको बीचमा रहेको बिन्ध्याचल पर्बत श्रेणीको चौहद्दि भीत्रको छेत्रलाई किरात देश भनिएको छ । यहि चौहद्दि भीत्र महाभारतमा उल्लेखीत सात बिभिन्न राज्यहरु पनि पर्दछन् । जुन कुरो मार्कण्डेय पुराणमा समेत उल्लेख छ, जस्तै १) अश्वकूट वा काबुल, २) कुल्य वा कुलु उपत्यका, ३) मत्स्य वा उत्तर बिहार, ४) पौण्डू वा बंगाल, ५) सुमेर वा असाम, ६) मलाक म्लोक वा लोहित, ७) किनर, किरात वा गढवाल र नेपाल भनि राज्यहरुका नाम लिएका कुराबाट पनि यी राज्यहरु समेत शक्ति संगम तन्त्रमा तोकिएको चौहद्दी भीत्रै पर्न गइरहेको देखिन्छ ।
काश्मिरको राजत र गिनिमा बिभिन्न राजबंशको नामावलिमा किरातहरुको उल्लेख हुनु, राजमाला नामक ग्रन्थमा त्रीपुरा राज्य समेत प्रसिध्द किरात राज्य भएको कुराको दाबि सहित उल्लेख हुनु, ग्रिकहरुले उनिहरुको पौराणिक ग्रन्थमा किरा दाई भनि उल्लेख गर्नु, त्यसैगरि भारतलाई गङ्गावार र गङ्गापार भन्ने बिभाजन गरि गङ्गा नदीको दुबै किनारामा किरातहरुको बसोबास भएको बर्णन गर्नु र ऋग्बेदमा गंगा र यमूनाको संगम पर्ने अलाहबाद वा प्रयागमा किरातहरु र आर्यहरुको युध्द भयको कुराको बिबरण हुनु आदिले पनि किरात देश शक्ति संगमतन्त्रमा ऊल्लेख भएको एरियानै हो भन्ने कुराको पुष्टि हुन जान्छ । उपरोक्त कुराहरुका साथै एच.डि.शंकालियाले दोस्रो शताब्दि ए.डि.को अभिलेखमा किरातहरुको उल्लेख भएको कुरा लेखेका छन् भने ९५४ ए.डि.कोखजुराओको अभिलेखबाट कैलाशमा प्राप्त एउटा मुर्तिलाइ काशमिर नजदिकको किरा भन्ने स्थानमा पूजा गरिने गरेको चाख लाग्दा कथा पाइन्छ । पेराया र किरादा नामक दुइ प्रमुखहरुले प्रचलनमा ल्यायको मुद्राको ऊल्लेख कनिङ्घामले गरि राखेका छन् र उल्लेखित ती प्रमूखहरु चौथो शताब्दि ए.डि.तीर पंजाबमा शासन गर्दथे भन्ने पनि लेखिएका छन् । बद्रिनाथ नजिकै ललितपुरको पाण्डूकेश्वरको शिलालेखमा राजनीतिका निपुर्ण अठार जातिहरुमध्ये किरात पनि एक भएको कुरा उल्लेख छ । यसैगरि राँचीको प्रस्तर रेलिङ्गहरुमध्य एकमा बौध्द धर्मावलम्बि भिच्छुहरुमा किरात भिच्छु सामेल भयको कुराको उल्लेख छ । नागर्जुन कुण्डको इछ्वाकुकालको अभिलेखमा अरहतहरुको धर्म–सभामा भागलिन भनि आएका किरांत आगन्तुकहरुका बर्णन छ । पश्चिमि राजस्थानको ध्वस्त प्राय जोधपुर नगरमा खादिमको ४ माइल पश्चिम तर्फ हाथ्मा भन्ने गाउमा २७ वटा मन्दिरहरुमा ५ वटा शिब मन्दिरहरु हालपनि छन् । ती मध्य एकमा सम्बत–१२३५ को अभिलेख छ । त्यस मरुभूमिको बिच–बीचमा इनारहरु,कुपहरु छन्।त्यस स्थानलाइ किरांत कुप वा किरात पहाड पनि भनिएको छ । किरांत कुपबाट नै किरांत नाम पनि भएकाले आजभोलि पनि सो स्थानलाइ किरादू नै भन्ने गरिन्छ । पुलाम्बिको अभिलेखमा किरात वा खखरात नाम उल्लेख भएको कुरा जुडिसिएल कस्टम्स अफ नेपाल, भन्ने पुस्तकमा श्री केशर बहादुर के.सी.ले लेखेका छन । पश्चिमि यू.पी.को लाल किल्लादेखि ३ माइल परतीर किरातपुर भन्ने स्थान अध्याबधी छ भने यू.पी.कै मिर्जापुर जिल्लामा किरांतेश्वर महादेबको मन्दिर पनि छ । कस्तुरि राजाको बागेश्वर शिलालेखमा त्रीभूवन राजदेब जसले गाम्भीयपीण्ड भगवान र परमेश्वरको अर्चनार्थ जयकुल मुक्तिका नामक गाउमा पर्ने नाथ भन्ने दुइ द्रोणको उब्जनि हुने जमीन दान दिए भन्दै उनका अति मिलनसार साथि जो किरातका छोरो थिए भने उनले पनि साढेदुइ द्रोण जमीन माथिको परमेश्वर र गाम्भीयपीण्डका पूजा अर्चनार्थ चढाएको कुरा उल्लेख छ।उपर्युक्त कुराहरु हाल नेपालको सीमा भन्दा पश्चिम तथा दछ्छीन छेत्रमा रहेकाछन् । नेपालको हालको सीमाभित्र दुल्लु दैलेखमा प्राप्त काचल्लदेवको शक सम्बत ११४५ को शिलालेखमा किरात प्रमुखको उल्लेख स्पष्ट गरिएको छ । त्यसपछि भने हामी एकैचोटि काठमाण्डौ उपत्यकामा आइपुग्छौ । पशुपति मृगस्थलिमा भएको किरातेश्वर महादेवको लिङ्ग रुप र काठमाण्डौ हनुमानढोकाको देगुतले मन्दिरको पेटिमा कुदिएको शिलापत्रमा किरातको उल्लेख भएको कुरो । लिच्छबि अभिलेख संग्रहमा श्री धनबज्र बज्राचार्यले उल्लेख गरेको उक्त अभिलेख नै प्रस्तुत गरि प्रमाणित गर्नु भएको छ ।
« PREV
NEXT »

यसमा तपाइको मत