Latest News

किरातकालीन महिलाको स्थिति

किरातकालमा नेपालमा महिलाहरुको स्थिति ज्यादै उच्चतम स्थितिमा रहेको पाउँछौं । त्यसबेलाको समाजले महिलाहरुलाई पुरुषकै अर्धांगीनीको रुपमा स्वीकारेको पाउँछौं । किरात कालमा जुनसुकै कार्य गर्दा समेत महिलाहरुको पूर्ण रुपमा सहभागिता रहने व्यवस्था थियो । यिनीहरुको कार्यक्षत्र नेपालको पूर्वी भागमा नै थियो । अहिलेका किरात जातिको रहनसहन प्रायः जसो किरातकालिन नेपालको रहनसहन सँग मिल्दोजुल्दो छ । किरात जातिमा हाल पनि महिलाको स्थिति अन्य जातिमा भन्दा उच्च छ, पुरुषसरह स्थान छ । स्वतन्त्रता उपभोग गर्दछन् । किरातकालिन महिलामा यस अवस्थाका अन्य जातिका महिला भन्दा ज्यादै खुल्लारुपको व्यवहार पाइन्छ । यिनीहरुले पुरुषसँगको व्यवहार खुल्लारुपमा गर्दथे । पुरुषहरुको कार्यमा काँधमा काँध मिलाएर साथसाथै सहयोग गर्दै लाने गर्थे । यसबेलाको जस्तो सरकारको विकास त्यस अवस्थामा थिएन । हुन त त्यस अवस्थामा ब्राह्मण, क्षेत्रीय, वैश्य र सुद्र चार जातको बसोबास देखिन्छ । ब्राह्मण क्षेत्रीय महिलाहरुमा सामान्यत बन्धन देखिन्छ । भने वैश्य र सुद्रमा सम्पूर्ण प्रकारका छुटहरु प्रदान गरेको पाइन्छ । ब्राह्मण क्षेत्रीय महिलाहरुमा साधारणरुपमा बन्धनहरु भएतापनि तिनीहरुलाई त्यसबेलाको कानूनले धेरै मात्रामा संरक्षण गरेको थियो । एउटी स्वास्नीलाई अर्काले लगेको खण्डमा त्यसरी स्वास्नी मानिसको संरक्षणका लागि आफ्ना वंशज पट्टिका स्वास्नीमानिस करणी गर्ने व्यक्तिलाई हाडफोरा भनिन्थ्यो र त्यस्ता हाडफोरा व्यक्तिलाई दास बनाएर त्यसका पुस्तापुस्तासम्म दास बनाउने व्यवस्था थियो भने आमा पट्टिका स्वास्नीमानिसलाई करणी गर्ने व्यक्तिलाई दूधफोरा भनिन्थ्यो र त्यस्ता दूधफोरा व्यक्तिलाई आजन्म ओडारमा राखिन्थ्यो र त्यस्ता मानिसलाई आजन्म स्वास्नीमानिसको अनुहार हेर्न नपाउने गरिन्थ्यो । यस व्यवस्थाले गर्दा स्वास्नी मानिसमाथि अमानुचित व्यवहार गर्न सजायको डरले नसक्ने व्यवस्था गरिएको थियो । कुनै पनि तल्लोजातको व्यक्तिले माथिल्लो जातिको व्यक्तिलाई करणी गरेमा सुद्रले ब्राम्हणलाई करणी गरेमा निजको लिंग काटी खुवाई खोलापारी लगि मारिन्थ्यो भने क्षेत्रीय स्वास्नी मानिसको करणी गरेमा निजलाई आजन्म दास बनाउने व्यवस्था थियो । यसो हुँदा हुँदै पनि ब्राह्मणदेखि अन्य जातिहरुमा अन्तरजातीय विवाहको पनि प्रचलन प्रशस्तै मात्रामा देखिन्छ, पुरुषवर्गले बहुविवाह गर्ने चलन पनि एकारित देखिन्छ भने अर्काेतर्फ विधुवा स्वास्नी मानिसहरुलाई पनि विवाह गर्ने प्रचलन प्रसस्त मात्रामा थियो । त्यसबेला पनि स्वास्नी मानिसहरुलाई सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था थियो त्यसबेला सिन्को भाँची र पांगो फोडेर सम्बन्ध विच्छेद हुन्थ्यो ।
यसरी महिलाहरुलाई समान रुपमा नै स्वीकारेको पाइन्छ । त्यसबेला राजनैतिक अधिकार पुरुषवर्गले नै नपाएको हुँदा त्यस अवस्थाका महिला वर्गले पाउने कुरै भएन तर पुरुषहरुले त्यसबेला जे जति आर्थिक तथा सामाजिक अधिकार र संरक्षण पाए त्यति नै कानूनले महिलाहरुलाई समेत संरक्षण प्रदान गरेको पाउँछौं । त्यस्ताका महिलाहरुमा पनि धेरै महिलाहरुको कार्य अविस्मरणीय छ । चारुमति जस्ती आदर्श नारीको उदाहरण लिन सकिन्छ । उनले आफ्नो पतिको नाममा शहरको स्थापना गर्न सक्षम भइन् भने पति देवपतनले शुरु गरेको विहार निर्माण कार्य पतिको मृत्युपश्चात उनले पुरा गरिन् । यसरी किरातकालिन इतिहासलाई हेर्दा महिला जातिको विकास नेपाली प्रशस्तै अवसरहरु प्रदान गरेको पाउँछौं । जसको उदाहरण अहिले पनि किराती जातिहरुमा त्यसको छाप प्रसस्तै मात्रामा परी महिलाहरुलाई प्रशस्त स्वतन्त्रता प्रदान गरेको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत