Latest News

आदिवासीहरु राष्ट्रका मूख्य पदबाट बञ्चित

काठमाडौं । छहरा साप्ताहिक ।  यो देशका भूमिपुत्र, आदिवासी समुदायहरुलाई फेरी पनि राष्ट्रका मुख्य पद राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष पदमा पुग्न राज्यले नियोजित र षड्यन्त्रपूर्वक ढंगले बन्चित गरेको देखिन्छ । राष्ट्रिय राजनीतिक दलहरु नेकपा (एमाले), नेकपा(माओवादी) केन्द्र, नेपाली कांग्रेस, मधेसवादी दल, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीहरुले भूमीपुत्र, आदिवासी जनजाति समुदायहरुलाई फेरि एकपटक नराम्रो धोका दिँदै गद्दारी गर्दै आफ्नो अवसरवादी चरित्र प्रदर्शन गरि दुई सय पचास वर्षको कालो असमानता, विभेद र भेदभावपूर्ण कार्यशैली, प्रवृत्ति र व्यवहारलाई पुनः दोहोर्याएका छन् । राष्ट्रपतिको निर्वाचनमा जनताबाट निर्वाचित भनिएका कथित दलहरु एमाले र माओवादी केन्द्रले विद्या भण्डारीलाई पुनः उम्मेदवार बनाएर आफ्नो असली अनुहार प्रष्ट पारेका छन् । कांग्रेसले नजित्ने स्थितिमा भूमिपुत्र समुदायकी कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाएर विचरीलाई बलिको बोको बनाएको छ । पहिला पनि हार्ने निश्चित भएपछि भूमिपुत्र कूल बहादुर गुरुङलाई यसरी नै बलिको बोको बनाईएको थियो । यसरी हार्ने स्थितिमा आदिवासी वर्ग र समुदायकालाई नै उम्मेदवार बनाउने कांग्रेसको असली अनुहार व्यवहार विगतका अभ्यास र प्रवृत्तिहरुले पनि पुष्टि गरिसकेको छ ।
हिजो संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समावेशी लोकतन्त्र प्राप्तिको आन्दोलनमा भूमिपुत्र, आदिवासी समुदायलाई तिम्रो पहिचान र अधिकारको मुद्दालाई पुर गर्छाै भनेर आन्दोलनर संघर्षमा होमेर हजारौंलाई शाहदत गराउने पार्टी र शीर्ष नेताहरुले आन्दोलन सफल भई ठूलो राजनीतिक परिवर्तन भैसकेपछि भूमिपुत्रहरुलाई खोलो तरेपछि लौरो फालेझैं उपयोग गरि फाल्ने प्रवृत्ति र कार्यशैली ठूला राजनीतिक दलका नेतृत्व वर्गहरुबाट नेपालको राजनीतिमा हुदै आएको छ र राष्ट्रपतिका लागि भूमिपुत्र वर्गबाट दर्जनौं दक्ष, योग्य र क्षमतावान् व्यक्तिहरु थिए तर यस्तालाई उम्मेदवार बनाइएन । भूमिपुत्रहरुलाई त शाहदत हुने बहादुर योद्धा मात्र बनाइए । राष्ट्रपतिमा भूमिपुत्र वर्गबाट नबनाइए पनि प्रतिनिधि सभाको अध्यक्षमा भूमिपुत्रलाई बनाउन सकिन्थ्यो । तर त्यहाँ पनि माओवादी केन्द्रका ‘खस–क्षेत्री’ समुदायका कृष्ण बहादुर महरालाई जिताएर राज्यको मुख्य पदमा आदिवासी÷जनजातिलाई बन्चित तुल्याइयो । यसरी मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष जस्ता सबै मुख्य पदहरुमा भूमिपुत्र आदिवासी जनजातिहरु बन्चित पारिएपछि यो समुदाय केवल भरिया, हरुवा, चरुवा जस्तै दलका शीर्ष नेताहरुले दिएको जुठो, पुरो मात्र खाएर बस्ने समुदाय भएका छन् ।
अब भूमिपुत्र, आदिवासी समुदायबाट राजनीतिक दलभित्र नेतृत्व गर्दै आएकाले सोच्ने बेला भएको छ । ब्राह्मणवादी विरुद्ध विद्रोह गर्ने बेला भएको छ । भूमिपुत्रहरुलाई अहिले पनि राज्यले धोका दिएको छ । गद्दारी गरेको छ । पहिचानको मुद्दा पनि खण्डित पारिएका छन् । जातीय, क्षेत्रीय र भाषिक आधारमा लिम्बुवान, खम्बुवान, कोचिला, भोजपुरी, मैथिली, ताम्सालिङ, नेवा, मगरात, तमुवान, थरुहट, अवध, खसान, जडान तथा कर्णाली राज्य नदिई ०७२ असोज ३ गते ठूलो धोका दिई बेइमानी भएको छ । राज्यका प्रमुख पदमा निर्वाचन गरि चयन गर्दा भूमिपुत्र, आदिवासी जनजाति समुदाय माथि फेरि ठूलो धोका घडी र बेइमानी भएकाले भूमिपुत्रहरुले गम्भीर भई सोच्ने र ऐतिहासिक विद्रोह गरि भूमिपुत्रहरुको छुट्टै दल खडा गरि सशक्त पहिचान र अधिकारको आन्दोलन र संघर्ष गरि पहिचानको मुद्दालाई सम्झौता विहिन ढंगले सफलतामा पुर्याउन एकजुट हुने बेला आइसकेको छ । त्यसैले भूमिपुत्रहरु सबै एकजुट भई एक ठाउँमा आऔं ।

« PREV
NEXT »

यसमा तपाइको मत