दक्षतामा नभई चाकरी र लेनदेनको हिसाबले आइजिपी भएका व्यक्तिले सेवा अवधिभर भ्रष्टाचार गर्ने र अवैध सम्पत्ति थुपार्ने काम गर्दछन् । यस्ता आइजिपीले मातहतका राष्ट्रसेवकहरुलाई ईमान्दार बन, भ्रष्टाचार नगर, घुस नखाऊ, नैतिक आचरणमा रहेर आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर भन्दा कसले टेर्छ ? हिजो उसैको नेतृत्वमा बसेको समयमा अपराधिहरुसँग रकम असुलेर बुझाउने राष्ट्रसेवकले, उसैको यस्तो नैतिकताको शिक्षा कसरी पालना गर्ला ?
यो पटक पनि प्रहरी आईजिपीको बढुवामा ठूलै चलखेल भयो । यदि यसो नभएको भए, दोस्रो वरियतामा रहेको व्यक्तिलाई आईजीपी बनाइन्न थियो र सर्वाेच्च अदालत विवादमा मुछिन्न थियो । राजनैतिक दलहरुको जेमन्तका कारण वर्तमान आईजीपी प्रकरणमा सर्वाेच्च अदालत विवादमा तानियो ।
सबैलाई थाहा छ, प्रहरी प्रशासनमा मात्र नभएर, अन्य सरकारी निकायहरुमा कमाउने ठाउँहरुमा इन्चार्ज हुनको लागि, योग्य दक्ष र ईमान्दारीता होइन, लेनेदेनले ठूलो महत्व राख्दछ । स्वभावैले पैसाको भरमा इन्चार्ज पाएपछि, खर्च गरेको रकम त उठाउँनै प¥यो । खर्च उठाउन, बेइमानीलाई साथ दिनै प¥यो । अनि मुलुकमा शान्ति, सुव्यवस्था र अमन चयन कहाँबाट हुन्छ ? अमनचयन र शान्ति सुरक्षाको अभावमा मुलुक अस्तव्यस्त त हुने नै भयो । त्यस्तै आयल निगमको गोपाल खड्का र निलम्वीत राजस्वका चुडामणि शर्मा प्रकरणलाई हेरे सबै कुरा घामझैं छर्लंङ्ग हुनेछ ।
मुलुकमा दिनदहाडै हत्या, बलात्कार, डकैत, लुटपाटका घटना एकपछि अर्काे दोहोरिदँै छ । सम्बन्धित निकाय मौन छ । मुलुकभर व्यथिति बढ्दो छ । नीति, नियम, थितिको यहाँ कुनै अर्थ छैन ।
राजनैतिक दलहरु स्वयं नै बेथिति निम्त्याउनमा तल्लिन देखिन्छन् । पिउन देखि संवैधानिक निकायको नियूक्तिसम्म भागबण्डा जय नेपालको आधारमा गरिन्छ । जनता र देशभन्दा आफ्ना पार्टी र नीहित स्वार्थसिद्धमा शीर्ष नेताहरु तल्लिन छन् ।






Social Buttons