काठमाडौं । आदिवासी जनजातिका अगुवा भनाउँदाहरुकै कारण आदिवासी जनजातिहरु ओझेलमा पर्दै आएका छन् । सामान्य चिया पसलदेखि भट्टिपसलसम्म भेला भएर आदिवासी जनजातिका हक अधिकारको सवालमा आकाशपताल जोड्ने जनजातिका कथित नेता भइखाकाहरु पार्टी नेतृत्वसामु भने ‘त्वम्शरणम्’ हुने गरेका छन् । जसकारण आदिवासी जनजातिको हक अधिकारसम्बन्धि बहस चिया पसल, भट्टिपसल, सभासमारोहमा मात्र सिमित रहन गएको छ ।
तीनवटै ठूला दलहरु एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेमा आदिवासी जनजातिका प्रतिनिधि हौ भन्ने थुप्रै छन् । तर बाहिर जनजातिका पक्षमा जति वकालत गरे पनि तिनीहरु पार्टीभित्र भने ब्राह्मणवादी नेतृत्वको हैकमसामु नतमस्तक भइहाल्छन् । अर्थात् पार्टीभित्र उनीहरु नेताको ‘झोले’मा सिमित हुन पुग्छन् । आदिवासी जनजातिहरुको छाता संगठन आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरुपनि पार्टीकै झोले बनेको आदिवासी जनजातिहरुले नै अनुभव गरिरहेको कुरा हो । महासंघमा नेतृत्व गर्ने हालसम्मका जो सुकै पनि तिनै ठूला दलमध्ये कुनै न कुनै दलसँग आबद्धता रहे । तिनीहरु आदिवासी जनजाति समुदायमा जाँदा एकथरी कुरा गर्छन् । खाट्टी जनजाति नेताको रुपमा प्रस्त हुन्छन् र ठूला ठूला कुरा गर्छन् । तर पार्टी नेतृत्वले जे भन्यो, काम त्यसैअनुरुप गर्छन् । फेरि ठूला कुनै पनि दलहरु आदिवासी जनजातिको हकअधिकार आत्मनिर्णयको अधिकारसहितको संघीय राज्य संरचनाका सवालमा अझैसम्म प्रष्ट हुन सकेका छैनन् । पार्टी नेतृत्वलाई यस विषयमा दबाब दिनुपर्ने आदिवासी जनजाति नेताहरु सबै राजनीतिक दलहरुमा भए पनि उनीहरुले स्वविवकले आत्मनिर्णय गर्न सकिरहेका छैनन् । यथार्थमा बाहिर जति ठूला कुरा गरे पनि अन्तिममा पार्टी नेतृत्वकै निर्देशनमा उनीहरु चलिरहेका हुन्छन् ।
आदिवासी जनजातिहरुबीच एकता पनि छैन । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति हावी छ । यता मधेस प्रदेशको माग गर्दै आएका मधेसवादी दलहरु एकताबद्ध भएर संयुक्त मोर्चा नै बनाएका छन् । आफ्नो हकअधिकार एवं मधेस भूभागका सम्बन्धमा एकताबद्ध भएकै कारण चारवटा मधेसवादी दलहरुको संयुक्त मोर्चाले ठूलो दल भएको घमण्ड गर्ने तीनवटा दलहरुलाई रिंग्याईरहेका छन् । आदिवासी जनजातिहरुको पनि मधेसी मोर्चाझैं आफ्नो हकअधिकार राज्यसंरचनालगायत राष्ट्रिय मुद्दामा एकताबद्ध भएको भए यतिबेला उनीहरु पनि राज्यको निर्णायक शक्तिको रुपमा देखा पथ्र्याै । तर एकले अर्काेलाई डाहा गर्ने, होच्याउने, नपत्याउने र खुट्टा तानेर अघि बढ्न नदिने प्रवृत्तिकै कारण सबै आदिवासी जनजातिहरु पछाडितिर धकेलिरहेका छन् । अतः आदिवासी जनजातिका सवालमा सभासमारोहमा ठूलाठूला कुरा गर्नेहरु अन्तिममा गएर राजनीतिक दलका नेताहरुको झोले कार्यकर्ता बन्न छाडेर आत्माबाटै आदिवासी जनजातिका सवालमा लागि परे यो भूमिमा आदिवासीकै एकछत्र राज रहने कुरामा कुनै दुईमत हुनेछैन । सबैले यस कुरालाई गम्भीरताकासाथ लिऔं ।





Social Buttons