गाउँघरका हुनेखाने र टाठाबाठाहरु त शहर पसेर पनि केही व्यापार व्यवसाय चलाई जीवन गुजार्लान् तर गरीब निमुखा निरिह जनताहरु जसले बनी बुतो गरेर एक छाक टार्न विवश हुनु परेको छ, त्यस्ताले कसरी बाँच्ने ? यस्ता दयनीय अवस्थाबाट गुज्र्रीरहेका दिनहीन जनताको सवालमा नत सरकार केही गर्न तयार छ, नत कथित जनवादीहरुले नै । राजनैतिब खिचातानिमा मकै पिस्ने क्रममा घुन पिसिएझै निर्दोष दिनहीन नेपालीहरु दिनदिनै पिसिइरहेका छन् । ती विकट वस्ती र कुना काप्चाहरुमा न डलर खेती गर्ने मानवअधिकारवादीहरुनै पुग्दछन् न त कुनै समाजसेवी वा नाङले पेपरका पत्रकारहरु नै । उनीहरुको रोदन क्रन्दन त्यहीको भीर र पाखाले सुन्छ, अनि त्यही विलाएर जान्छ । त्यहीकारण गाउघरबाट मानिसहरु राजधानी भित्रीने क्रमलाई निरन्तरता पाएको छ । बनी बुतो गरेर खान र सुक्षाको अनुभूति पाउनका लागि जनताहरुले भन्न थालेका छन् जुनसुकैतन्त्र या वाद भए पनि सर्वप्रथम मानवीय मुल्य र मान्यतालाई मध्यनजर राखेर जनआकांक्षालाई प्राथमिकतामा राखिनु पर्दछ । के एक्काइसौं शताब्दीमा विश्वले छलांग मार्दा पनि नेपाली जनताहरु भने राजनीतिको फोहोरी खेलमा डुबुल्की मार्नु पर्ने, उत्पीडित रहेरै बाँच्नु पर्ने ? राणातन्त्र, पन्चायतीतन्त्रको अन्त्य भएपनि वर्तमान राजनैतिक दलका शिर्ष नेताहरुको मस्तिष्कबाट तानाशाही प्रवृत्ति भने अझैं नहटेको महसुस गरिँदैछ ।
यथार्थमा सबैले बुझ्नु पर्ने खाँटी कुरो के हो भने तन्त्र या वाद परिवर्तनले मात्र देश र जनताको भलो र उन्नति हुँदैन । प्रत्यक दल र नेताहरुमा चारित्रिक सुधार हुन नितान्त आवश्यक छ । प्रत्येक नेपाली जनताहरुमा जनचेतनाको अभिवृद्धि हुनु नितान्त आवश्यक छ । राजनीतिक मुद्दा मात्र देश विकासको मुलधार होइन, सामाजिक, सांस्कृतिक, आर्थिक तथा विज्ञान प्रविधिको मुद्दालाई पनि सँगसँगै लिएर अगाडि बढ्नु पर्ने हुन्छ । कुनैलाई काखा र कुनैलाई पाखाको दृष्टिकोणले हेरिनु हुन्न । प्रत्येक नेपालीले मान्ने धर्म, भाषा, कला, संस्कृतिको समान उत्थान हुनुपर्दछ । अनि मात्र मुलुक चौतर्फी विकासको गतिले अगाडि बढ्ने छ ।





Social Buttons