काठमाडौं । छहरा साप्ताहिक । कांग्रेसको कृष्ण सिटौला गृहमन्त्री छँदा भएको सुडान घोटाला प्रकरणमा अहिले तत्कालिन आईजीहरु, एआईजीहरु डिल्लिबजार खोरमा राखिएका छन् । सिटौला गृहमन्त्री हुँदा सुडानमा खटिइएका सुरक्षाकर्मीहरुको बन्दोबस्तीका सामान खरिदमा २९ करोड रकम घोटाला भएको थियो । तर तत्कालिन गृहमन्त्री कृष्ण सिटौलालाई भने १२ हातको टाँगोले पनि छुएको छैन । घोटालामा विभागीय मन्त्रीको हैसियतले कृष्ण सिटौलाको हात नरहने कुरै भएन, हात नभएपनि नैतिक जिम्मेवारी उनलेनै लिनुपर्ने होइन र ? त्यतिबेलै कांग्रेसभित्रैबाट पनि कृष्ण सिटौला र कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाई विदेशी नागरिक रुबेल चौधरीको पनि सुडान घोटाला प्रकरणमा संलग्नता रहेको बारे कडा विरोध भएको हो ।
कांग्रेसका यूवा नेता, हाल प्रतिनिधि सभाका सशक्त उम्मेदवार, धनराज गुरुङले उबेलै राष्ट्रको प्रतिष्ठा धुलोमा मिलाउने सुडान प्रकरणबारे नेपाली कांग्रेस चुप लाग्न नहुने र पार्टीको झण्डा बोक्दैमा लगाउँदैमा दोषीले उन्मुक्ति पाउनु हुँदैन यसको छानबीन हुनु पर्दछ र कारवाही हुनु पर्दछ भनि विरोध जनाउनु भएको हो । धनराज गुरुङले मात्र नभएर गगन थापा, आनन्द प्रसाद ढुंगानालगायतले पनि सुडान प्रकरणमा कृष्ण सिटौला र सुजाता कोइरालाकी छोरी ज्वाई रुवेल चौधरीको संलग्नता रहेको त्यति बेलै बताएका थिए ।
यही काण्डमा निलम्बनमा परेका प्रहरीहरुले संविधान सभा राज्य व्यवस्था समितिमा गई गृहमन्त्री लगायत मन्त्रालयका अधिकारीहरुका मिलोभगतमा भएको सुडान घोटाला प्रकरणमा आफुहरुको हात नरहेको अनुरोध गरेका थिए । सो अवसरमा उनीहरुले तत्कालिन गृहमन्त्री कृष्ण सिटौला, बामदेव गौतम, भिम रावल, तत्कालिन गृहसचिवहरु उमेश मैनाली, गोविन्द कुसुम र गृह प्रशासन हेर्ने सह सचिव प्रेम राई लगायतको सहकार्यमा सुडानको डाफरमा खटिएका नेपाली प्रहरी टोलीका लागि हतियार र बन्दोबस्तीका सामान खरीद गर्ने क्रममा २९ करोड रुपियाको घोटाला भएको बताइएको छ । याद रहोस् एपिसि खरिदबारे सम्झौता गर्दाको समयमा गृहमन्त्री कृष्ण सिटौला, गृह सचिव उमेश मैनाली, प्रहरी महानिरिक्षक ओम विक्रम राणा पदमा थिए भने सुडान घोटाला प्रकरणको अन्तिम भूक्तानी दिने समयमा गृहमन्त्री भीम रावल, गृहसचिव गोविन्द कुसुम र गृह प्रशासन जस्तो गृहको महत्वपूर्ण विभाग हेर्ने भीम रावलको दाहिने हात कहलिएका सह सचिव प्रेम राई गृहमा बहाल रहेका थिए ।
तर यस सुडान घोटाला काण्डमा प्रहरीका केही व्यक्तिहरु मात्र कारवाहीको दायरामा परेका छन् भने मुख्य आरोपीहरु तत्कालिन गृहमन्त्री कृष्ण सिटौला, भीम रावल र गृह सचिव उमेश मैनाली, गोविन्द कुसुम र सह सचिव प्रेम राईलाई भने १२ हातको टाँगोले पनि नछुएको हेर्दा यहाँ ‘ठूलालाई चैन, सानालाई ऐन’को चरितार्थको रुपमा नेपाली जनताले लिएका छन् ।






Social Buttons