Latest News

जताततै टुरिष्ट उम्मेदवार हावी

छहरा साप्ताहिक
काठमाडौं । आज नेपालीले प्रतिक्षा गरेको समय जति जति नजिकिदै छ, त्यतित्यति नै नेपाली आकाशमा आशंकाको कालो बादल मडारीन थालेको छ । अशान्ति, असुरक्षा, महँगाई, ढिलासुस्ती, नातावाद, क्रिपावाद, फरियावादजस्ता विद्यमान सवालहरु एकातर्फ समाजमा झनै मजबुत बनिरहेका छन् भने अर्काे तर्फ जातीय विभेद छुवाछुत जस्ता सामाजिक कुरीति कागजमा निमिट्यान्नै भएपनि व्यवहार तेर्साउन सकेको छैन ।
रगतको पोखरीमा डुबुल्की मारिरहेको अवस्थाबाट देश पार भएर शान्तिमय वातावरणमा अवतरण भएको यतिका दिन भइसक्दा पनि आम नेपालीले चाहेका र खोजेका जस्ता तन्त्र पाउन सकेका छैनन् । नेपालीले रक्त रन्जित होइन शान्तिमय वातावरणमा मुलुक अगाडि बढोस्, रक्त पिपासुहरुको शिर झुकोस्, जातपात, छुवाछुतको अन्त र साम्प्रदायिक सद्भावमाथि कहिकतैबाट खलल पुर्याउने कार्य नदोहोराइयोस् र आत्मनिर्णयको अधिकार, जातीय भाषिक र क्षेत्रीय स्वशासनको आधारमा राज्यको पुर्नसंरचना संघीय लोकतान्त्री, गणतन्त्रको स्थापना चाएका हुन् । यसका साथै मुलुकमा फरियावाद, नातावाद र कृपावादलाई निस्तेज तुल्याई जातीय जनसंख्याको आधारमा पुन समानुपाति प्रतिनिधित्व र प्रत्येक जातिबाट समुदायगत आधारमा न्यूनतम पनि एक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने जस्ता नेपाली जनताले चाहेका हुन् । तर यस्ता जायज सवालहरुप्रति दलहरु गम्भीर भएनन् । केवल कुर्सी दौडमा सीमित रहे । फलस्वरुप संघर्षका तरंगहरुको तुष मुलुकमा यथावत् रहे । यसरी लोकतान्त्रिक गणतन्त्रको उदय पश्चात पनि कुरा त्यही भयो जे नुहुनु थियो । दलहरुले गणतन्त्रको घोषणा पश्चात् पनि पञ्चायती ढंगबाटै नातावाद, कृपावाद, फरियावाद जस्ता शैलीलाई नै निरन्तरता दिए । राजनैतिक पार्टीहरुले समानुपातिक प्रणालीबाट जितेका कोटामा समेत त्यही फरियावादलाई नै अवलम्वन गर्दै पञ्चायती शैलीलाई माथ गरे । सबै दलहरुका निमित्त समावेशीको अवसर भनेको जाती, जनजाति, दलित, उत्पीडित तह र तप्काको लागि नभई यसलाई समावेशीको नाममा उनीहरुले आफ्नो नातागोता, भाइभतिजा, छोराछोरी, श्रीमती भर्ती गर्ने अखडा बनाए । आसन्न निर्वाचनमा समावेशीमा पठाएका नामहरु हेरे प्रष्ट हुने नै छ ।
विडम्बना अहिले दलहरुले नेताहरुको सुरक्षित अवतरणका लागि गठबन्धन र तालमेलका ढिन्डोला पिटाएका छन् । जसले गर्दा रैथाने उम्मेदवारलाई पाखा लगाउने काम भएको छ । उदाहरणको लागि आसन्न निर्वाचनमा स्थानीय, रैथाने उम्मेदवारलाई पाखा पार्दै भरतपुर ३ बाट प्रचण्डले उम्मेदवारी दिएका छन् भने नेवा राज्य भनिएको काठमाडौं २ बाट एमालेका माधवकुमार नेपाल र काठमाडौं ५ बाट ईश्वर पोख्रेलले मंसिर २१ गते हुने निर्वाचनमा रैथाने उम्मेदवारहरुलाई बसाएर उम्मेदवारी दिएका छन् । यो त एक उदाहरणमात्र हो, यसरी देशव्यापी रुपमा ठूला दलहरुले गठबन्धनका नाममा स्थानीय जनजाति, दलित जस्ता रैथाने उम्मेदवार र उनीहरुका भावनामाथि कुठाराघात गरेका छन् । जगजाहेरै छ नेपालीले राज्यको पुर्नसंरचनाको सवाललाई चोमोलुङमाको उच्च शिखरमा पुर्याउने क्रममा हजारौं शहादत प्राप्त गरेका छन् । तर राजतन्त्रको पतन पछि गणतन्त्रको नाममा पनि नेताहरुले उही पुरानै संस्कारलाई अवलम्बन गर्दै भागबण्डामा तछाडमछाड गर्दै राष्ट्रिय  ढुकुटीमाथि ब्रह्मलुट गर्ने काम गरेर पञ्चायती संस्कारलाई नै माथ गरेका छन् । यति मात्र होइन पदकै बाडफाडको राजनीतिले अहिले बाम गठबन्ध र लोकतान्त्रिक गठबन्धको नाटक मन्चन गरेर दुनिया हसाउँने काम गरेका छन् ।

« PREV
NEXT »

यसमा तपाइको मत