Latest News

गणतन्त्रमा राष्ट्रवादीको खडेरी

काठमाडौं । सर्वहारावर्गको उत्थान, सामन्ती र भ्रष्ट व्यवस्थाको अन्त्य गर्दै आमूल परिवर्तनको उद्देश्य लिएर जनयुद्धको घोषणा गरेको माओवादी पार्टी तथा त्यसका सर्वाधिक चर्चित नेता प्रचण्ड पाएका नेपाली जनताका दुर्दिन अझै समाप्त भइसकेको छैन । बरु पछिल्ला राजनीतिक घटनाक्रमले देश गृहयुद्धमा फस्ने र फिजीको अवस्थामा पुग्ने देखिँदैछ ।
देश आजको अवस्थामा पुग्नुको पछाडि राजनैतिक दलका नेताहरु नै प्रमुख जिम्मेवार छन् । त्यसपछि यसको दोष सम्पूर्ण नेपाली जनता र विदेशी दातृराष्ट्रहरुलाई जान्छ । सत्ता स्वार्थका लागि दलहरुले जस्ता सुकै क्रान्तिकारी नारा लगाउने, राष्ट्रघाती जनघाती कार्य गर्न गराउन सहमती जनाउने, साथै व्यापक मात्रामा विदेशी हस्तक्षेप भित्र्याएकोले नै आज देशभित्रै नेपाली जनताको आवाज अल्पमतमा र ओझेलमा परेको हो ।
गणतन्त्र ल्याउने र राजतन्त्र समाप्त गर्ने नाममा पचास लाख भारतीयलाई नागरिकता दिइयो । महाकाली सन्धीलाई राष्ट्रघाती सन्धी भन्नेहरुले नै अपरकर्णाली विदेशीलाई सुम्पिने काम गरे । आन्तरिक सामन्तको अन्त्य गर्न विदेशी हस्तक्षेप भित्र्याए । जाति, धर्मका नाममा नेपालीलाई फुटाउने काम शिवाय कुनै पनि राजनैतिक दलले देश र जनताको पक्षमा काम गरेको देख्न पाइएन ।
छिमेकी देशका राजनैतिक घटनाक्रमलाई हेर्दा मात्र पनि राष्ट्रवादी भावना पलाउनु पर्नेहा, तर हाम्रो राजनेताहरुमा राष्ट्रवादी भावना मर्दै गएको देखिन्छ । भारतको सन्दर्भ हेर्दा त्यहा ब्रिटिशको विरुद्ध नेता र जनता मिलेर राष्ट्रियताको पक्षमा संघर्ष गरेका थिए । अहिले पनि पक्ष विपक्ष दुवै खेमाका नेताहरु अन्य विषयमा विमती राख्दछन् । तापनि राष्ट्रियताको पक्षमा भने जस्तासुकै परिस्थितिमा पनि एक हुन्छन् । त्यस्तै जनवादी गणतन्त्र चीनको इतिहासले के देखाउँछ भने माओले विदेशीको हस्तक्षेप विरुद्ध जनताको साथ लिएर लडेका थिए । उनले जापानी, पोर्चुगिज आदिको विरुद्ध देशभक्तिको लडाई लडेका थिए । अर्काे छिमेकी भुटानलाई नै हेरौ भारतको प्रभाव दक्षिण एसियाको मुलुकमध्ये बढी रहेको भनिन्छ । त्यहाँ भारतीय नागरिक प्रशासनिक तहमा छन् तापनि त्यहाँ कुनै पनि भारतीयले बिना अनुमति रात बिताउन पाउँदैनन् । तर नेपाल स्वतन्त्र सार्वभौमसत्ता देश भनिएतापनि यहाँका गद्दार नेताहरु भारतीय सह सचिवस्तरको राजदूतको चाकरी गर्न दुतावास धाउँछन् ।
राजनीतिभन्दा राष्ट्र ठूलो कुरा हो । राष्ट्र नै पराधिन भए के का लागि राजनीति ? देश र जनताको हि तगर्न नसक्ने, भावना समेट्नु नसक्ने कस्तो राजनीति हाम्रा नेता तथा राजनैतिक दलहरुले गरिरहेका छन् । नेपाली जनताले बुझ्न सकिरहेका छैनन् ।
विस्तारवादीको दलाल भनिने स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला र सामन्तको नायक भनिने राजा ज्ञानेन्द्र जति पनि राष्ट्रवादी भावना र व्यवहार गणतान्त्रिक नेताहरुमा नदेखिनु बुझिनसक्नु विषय बनेको छ ।
पछिल्ला दिनहरुमा नेपाली जनताले देशलाई यस्तो दुर्दशामा पुर्याउँने को हुन् ? भने खोजबिन गर्न थालेका छन् । राणाकाल अघि नायकको रुपमा पृथ्वीनारायण शाह देखिन्छन् । जसको नेपाल एकीकरणको अभियान चलाएको कारण आज नेपालीले हाम्रो देश नेपाल भनेर गर्व गर्न पाएका छौं । त्यसपछि बहादुर शाह अर्का देशभक्त देखिए । राणामा जंगबहादुर देशभक्त देखिए । निरंकुशताका प्रतिनिधि भए पनि उनको प्रभावका कारण नयाँ नेपाल फर्कियो । पछिल्ला समय गद्दारहरुले राजालाई गुमराहमा पारेर राजा र जनताको बीचको दुरी बढाउने कार्यमा लागे । अहिले राजतन्त्रको अन्त्यपछि पनि उनीहरु नै जनजाति आदिवासीलाई भ्रममा पारेर राजनीति गरिरहेका छन् । नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी लगायतका पार्टीमा उनीहरु नै नेतृत्व तहमा छन् । नेपाली समाजको रुपान्तरण र विकास विरोधी तत्वका रुपमा पनि तीन गद्दारहरुकै भूमिका प्रभावकारी छन् । यसैले गद्दारहरु सामन्तका प्रतिक हुन् । अन्यथा, जुनसुकै जाति र धर्मका भए पनि सबै नेपाली भएका नाताले राज्य सञ्चालनमा समान सहभागिता पहँुच हुने थियो ।
भाषणमा क्रान्तिकारीता र समानता देखाउने हाम्रा नेताहरुले कहिले पनि जनजाति आदिवासीलाई प्रतिकात्मक बाहेक अन्यस्तरमा स्थान दिएको देखिएन । अरु त अरु माओवादी जस्तो क्रान्तिकारी पार्टीमा समेत आदिवासी जनजातिको होनहार क्रान्तिकारी नायकहरुलाई जहिले पनि दोस्रो दर्जाका र शंकास्पद व्यवहार गरिएको देखिन्छ । जबकी जनसेनामा अधिकांश जनजाति आदिवासीका छोराछोरी थिए ।
तथापी अहिले देश पराधिन हुँदै गइरहेको संवेदनशील घडीमा पार्टी, जाति, धर्म आदिका मान्यता भन्दा माथि राष्ट्रियताको भावनाले ओतपोत भएर विदेशी दलालका विरुद्ध लड्नु पर्ने अत्यन्तै खाँचो सर्वत्र महसुस भइरहेको छ । यो नै आजको जनआवाज हो ।
छहरा साप्ताहिकबाट (सम्पादक गोपाल छाङछा राई)

« PREV
NEXT »

यसमा तपाइको मत