Latest News

नेवार एक नश्लीय जाती होइन

डा.महेशमान श्रेष्ठ 
एक हजार वर्षअगाडिदेखि नै नेपाल मण्डल राज्य अस्तित्वमा थियो । नेपाल मण्डल संघीय राज्य थियो । यसको राज्य प्रमुख नेपाल खाल्डोमा बस्थे । नेपाल खाल्डो नेपाल मण्डलको प्रशासकीय केन्द्र थियो । अमेरिका जंगली अवस्थामा रहँदा नेपाल मण्डल एक विकसित आधुनिक राज्य थियो । खासगरि नेपाल खाल्डो कला कौशलले भरिएका घर, बहाल, विहार, चौक, मन्दिर, चैत्यले गर्दा ढुंगे धारा, सुनधारा, ईनार, पोखरीको राम्रो व्यवस्थापनले गर्दा नेपालमा सबभन्दा उत्तम उर्वर भूमि र सिंचाईको, मलको उचित व्यवस्थापनले गर्दा व्यवस्थित नगर उपनगरको कारणले गर्दा नेपाल विश्व प्रसिद्ध राज्य थियो ।
आजकलका नेवारहरु ईतहासका गोपाली(गाईपाल्ने) किरात, ठकुरी, लिच्छवी र मल्लहरु हुन् । नेवारहरु लिम्बू, तामाङ जस्तै एक नश्लीय जाति होइन । नेवारहरुको साझा पहिचान भन्ने कुरा भाषा मात्रै हो । आभन्दा २५० वर्ष जति अगाडि गोर्खाका राजा पृथ्वीनारायण शाहले साम, दाम, दण्ड भेदको नीति प्रयोग गरेर नेपाल राज्य आफ्नो हात पारे । सयौं भारदारहरुको हत्या गरे । राम्रा उर्वर भूमि सबै आफ्नो बनाए । माटोको कुर्सिमा बस्ने राजा सुनको सिंहासनमा बस्न पाए । नेवारहरुलाई भूमिबाट, भाषाबाट विस्थापित गर्ने अभियान थाले ।
नेवारहरु संस्कृतिका धनी छन् । नेवारहरुलाई सांस्कृतिक गतिविधि गर्न छुट दिए । तर, राजनीति गर्न बन्देज लगाइदिए । राणा शासन निरंकुश थियो । आदिवासी नेवार विरोधी थियो । नेवारहरुले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे । निरंकुश राणा शासन ढल्यो, वि.सं. २००७ सालमा प्रजातन्त्र आयो ।
पञ्चायती शासन निरंकुश थियो । आदिवासी नेवार विरोधी थियो । पञ्चायतशासनविरुद्ध नेवारहरुले अग्रिम मोर्चामा बसेर लडे । पञ्चायती शासन ढल्यो । वि.सं. २०४६ मा बहुदलीय व्यवस्था आयो । अब सत्तामा नेपाली कांग्रेस र कम्युनिष्टहरु पुगे । आदिवासी नेवारहरुमाथि विभेदको अन्त्य भएन । अब नेवारहरु माओवादीतिर आकर्षित भए । सयौं नेवारहरुले त्याग र बलिदान गरे, नेपालमा गणतन्त्र आयो ।
नेवारहरुले नेपाली कांग्रेसको लागि एमालेको लागि, माओवादीको लागि त्याग तपस्या र बलिदान गरिरहेका थिए । दुःखको कुरा यी पार्टीहरु सबै जातिवादी, सामुदायिक, ब्राह्मण पार्टी भइदिए । आदिवासी जनजाति विरोधी, मधिशे विरोधी पार्टी भइदिए । यी पार्टीहरुको असली रुप पहिलो संविधान सभाको अन्तिम दिनमा –वि.सं. २०६९ जेठ १४ गते) स्पष्ट भयो । त्यो दिन आदिवासी जनजातिले खोजेको १० + १ प्रदेश आउने दिन थियो । ६०१ सभासदमध्ये ४१७ सभासदले –दुईतिहाई भन्दा बढी) १० + १) प्रदेशको लागि हस्ताक्षर संकलन गरि सकेका थिए । तर नेका, एमाले, माओवादी ब्राह्मणवादी नेताहरु सबै एकजुट भए । संविधान सभा भंग गरे । नेका, एमाले र माओवादी ब्राह्मणवादी नेताहरु मिलेर आदिवासी प्रजातन्त्रवादी, समाजवादी, साम्यवादी केही पनि होइन केवा जातिवादी, साम्प्रदायिक, ब्राह्मणवादी पार्टी हो भन्ने प्रष्ट भएको छ ।
यो पार्टीमा लागेका आदिवासी नेवार नेता र कार्यकर्ताहरुले व्यक्तिगत स्वार्थको कारणले र विकल्प नदेखेका कारणले पार्टीमै टाँसिएर बसेका छन् । आदिवासी नेवारहरुको अवस्था ज्याँदै नाजुक छ । नेवारहरुको भाषा पूर्ण रुपमा मासिन लागेको छ । नेवारहरुको टोल गाउँमा नामहरु पर्वते ब्राह्मणकरण गरिएका छन् । संस्कृतिको आधार बनेको गुठी जग्गाहरु सरकारले नै मासिदिएको छ । नेवारहरुको आदि भूमि नेपाल खाल्डोको सुन्दर उर्वर भूमिहरु कंक्रिटको जंगलमा परिणत गरिदिएका छन् । वि.सं. २०४६ मा बहुदल आएपछि आदिवासी नेवारहरुलाई उनीहरुको आदि भूमिबाट विस्थापित गर्ने क्रममा तिव्रता आएको छ । नेपाल खाल्डोमा ६÷७ लाखको हाराहारीमा आदिवासी नेवारहरु बसोबास गरेका छन् । अहिले बाहिरबाट आएर स्थायी रुपमा बसोबास गर्न थाल्नेको जनसंख्या ४०÷५० लाख पुगिसकेको छ । यहाँको सडक, पानी, ढल, नदी पोखरी, चौर आदि पूर्वाधारहरु सबै भताभुंग भइसकेको छ ।
तैपनि राज्य सत्ता नेपाल खाल्डोको जनसंख्या एक करोड पुर्याउने योजना लिएर अगाडि बढिरहेको छ । आखिर यी सब किन भइरहेको छ ? जातिवादी साम्प्रदायिक, ब्राह्मणवादी राज्य सत्ताको एउटै लक्ष्य देखिन्छ, त्यो हो जसरी भए पनि नेवारहरुलाई अति अल्पमतमा पार्ने, विस्थापित गर्ने, नेवारहरुको अस्तित्व नै समाप्त पार्ने । अनि त्यसपछि पालो आउँछ राई, लिम्बू, तामाङ, थारु, मगर, शेर्पाहरुको । आदिवासी नेवारहरुमा अधिकारको चेतना ल्याउन सकिएको छैन, संगठीत पार्न सकिएको छैन । आदिवासी नेवारहरु इतिहासबाट लोप हुनै लागेको हो कि ?
लेखक नेवाः राजनैतिक अभियानको संरक्षक हुन् ।

« PREV
NEXT »

यसमा तपाइको मत