Latest News

भूमिपुत्र जनजाति परिभाषाभित्र पर्दैन

गोपाल छाङछा राई
काठमाडौं । छहरा साप्ताहिक । नेपालको सन्दर्भमा जनजाति भन्ने शब्दबारे बहस टुंगोमा पुग्न सकेको छैन, व्यक्ति–व्यक्ति बीच आ–आफ्नै प्रकारका तर्क पेस गर्ने काम भइरहेका छन् । यसले गर्दा नेपालका जनजाति को हुन्, को होइनन् भन्ने अन्यौल अझै हट्न सकेको छैन । नेपालमा ‘जनजाति’ शब्दको व्यापकता प्रजातन्त्रको पुर्नस्थापना पश्चात अर्थात् २०४० सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोष’ भन्ने ग्रन्थमा उल्लेख भएको पाइन्छ । त्यसबेला नेपाली बृहत शब्दकोषमा विद्वान लेखक तथा सम्पादक मण्डलले कुन कुरा र के आधारलाई मानेर हो ‘जनजाति’ शब्दको यसरी अर्थ लगाएका छन् । उक्त शब्दकोष अनुसार जनजाति भन्नाले– ‘जंगल फाँडेर, खनी खोस्री बाली लगाई खाने, नागा, कोचे, कुसुण्डा जस्ता देखिने, शिक्षादिक्षा पटक्कै नपाएका, पछौटे जाति वा कुनै जनपदको मानव समुदाय भन्ने अर्थ लाग्छ भनिएको छ (नेपाली बृहत् शब्दकोष, पृष्ठ–४६९)’ । जनजाति सम्बन्धी उक्त शब्दकोषले उल्लेख गरेको परिभाषालाई मान्ने हो भने अपवादका केही जातभन्दा बाहेकका अन्य जातहरु सबै नै ‘जनजाति’ हुँदै होइनन् र हुनै सक्दैनन् पनि । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत जनजातिहरुमध्येका अधिकांशको बारेमा भन्नुपर्दा शिक्षा र सभ्यतामा निकै अगाडि नै देखिन्छन् । त्यसका अलावा नजिकको परिवेशसँग प्रभावित नहुने जात भनेको त अपवादमा रहेको १÷२ जातभन्दा अन्य छदैछैनन् भने हुन्छ । त्यसैले यस परिभाषा अन्र्तगत नै रहेर भन्नुपर्दा पनि नेपालमा जनजातिहरु १÷२ जाति बाहेक अन्य छँदै छैनन् । यस बृहत शब्दकोष भित्रको ‘जनजाति’ शब्दको अर्थले २०४० सालबाट नै बिखण्डन र मुलवासीहरुलाई फुट पार्ने कार्य गरेको देखिन्छ । यस परिभाषा पश्चात कसैले आफुलाई ‘जनजाति’ हो भन्न थाले भने कतिपयले हामी जनजाति होइनौ भन्न पनि थाले । यसै विभाजन भएको अवस्थामा नै २०४७ को संविधानले यस शब्दलाई अपनायो, जसले अझ जनजातिहरु भित्र ठूलै खैलाबैला मच्यायो पनि । खैलाबैला हुनेक्रममा नेवारी ‘जाति’ की ‘जनजाति’ ? भन्ने बारेमा अतिनै विवादीत विषय हुन पुगेको थियो । सो विवादले नेवारी ‘जनजाति’ होइन भन्ने ठहर समेत गर्यो, तर पनि नेवारलाई ‘जनजाति’को सूचिबाट हटाइएन ।

विज्ञहरुका अनुसार नेपालका आदिवासी–भूमिपुत्रहरुका मौलिक इतिहास, भाषा, संस्कार र संस्कृति, गौरवशाली गाथा र आफ्नै भूभाग छ भने, यी समुदायहरु, कसरी, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत शब्दकोषमा उल्लेख गरिएझै, यहाँका मूलवासी–भूमिपुत्रहरुलाई कही केही नभएका फिरंगी बन्जराझै, बनाइए ? प्रश्न चिह्न त खडा भएको छ नै षड्यन्त्रको ‘बू’ पनि दङ दङ गन्हाएको छ ।
२०५६ सालमा गठीत सन्त बहादुर गुरुङ नेतृत्वको कार्यदलले नेपालका भूमिपुत्रहरुलाई कही, केही नभएको, मगन्ते, फिरंगी–बञ्जाराकै सूचिमा राखेर विज्ञहरुको परिभाषा र बृहत शब्दकोषका मान्यतालाई विनाआधार कुठाराघात मात्र गरेको छैन, भूमिपुत्रहरुका गौरवाशाली ईतिहास माथि नै धावा बोल्ने काम गरेको छ । बृहत शब्दकोषलाई र विज्ञहरुका भनाईलाई आत्मसात गर्ने हो भने राई, लिम्बू, गुरुङ्ग, थारु, मगरलगायतका नेपालका आदिवासी समुदाय ‘जनजाति’ परिभाषा भित्र पर्दैनन् भन्ने कुरा स्पष्ट हुन्छ । उल्लेखित जातहरु ‘जनजाति’ परिभाषा भित्र नपर्ने स्पष्ट हुँदाहुँदै ‘जनजाति’ शब्दमाथि राजनीति गर्नेहरुले बलजफती विनाआधार ‘जनजाति’ परिभाषा भित्र राख्ने काम गरेका छन् । के माथि उल्लेखित जातिहरु बृहत् शब्दकोषमा अर्थ लगाइएझै असभ्य, अशिक्षित, नजिकको परिवेशसँग घुलमिल नभएको फिरंगी, बञ्जाराझै देखिन्छन् त ?
तर २०५६ सालमा तत्कालिन श्री ५ को सरकारले सन्त बहादुर गुरुङ को संयोजकत्वमा डा.कृष्णभट्ट चन्द सदस्य रहेको ‘जनजाति उत्थान प्रतिष्ठान कार्यदल’ गठन गर्यो । जुन कार्यदलले बृहत नेपाली शब्दकोषको परिभाषा विपरीत जनजातिको अर्थ यसरी लगायो । कार्यदलका अनुसार
आफ्नो सांस्कृतिक पहिचान भएको
आफ्नै परम्परागत भाषा, धर्म, रितिरिवाज र संस्कृति भएको
समानतामा आधारित सामाजिक संरचना भएको
परम्परागत छुट्टै भौगोलिक क्षेत्र भएको
लिखित या अलिखित इतिहास भएको
वर्तमान नेपालको राजनीति र राज्यसंरचनामा निर्णायक भूमिका नभएका
नेपालमा आदिवासी आफुलाई जनजाति भन्ने र हिन्दू वर्णश्रम व्यवस्था अन्र्तगत नपर्ने समुदाय हो भनि परिभाषित गरिएको छ । यसरी जनजातिको बारेमा अहिले पनि बहस यथावत् छन् । जनजाति भन्ने शब्दको अर्थ केलाउँदै जाने हो भने यदि नेपाली भाषा संस्कृति भाषालाई एक पटक फर्केर हेर्नुपर्ने हुन्छ । जनजाति शब्दलाई पदवियोग गरेर हेर्नुपर्ने हुन्छ । जन शब्द संस्कृति शब्द हो भय शब्दको अर्थ मनुष्य वा मानव भन्ने बुझाउँछ । यी दुवै शब्दलाई पदयोग गरेर हेर्ने हो भने मानव समुदाय भन्ने बुझाउँछ । यसरी हेर्दा जनजाति भन्नाले सबै मानव समुदायलाई बुझाउँछ । तर यहाँ जनजाति शब्दमाथि अव्यवहारिक रुपमा राजनीति भइरहेको छ । जो निन्दनीय छ ।

« PREV
NEXT »

यसमा तपाइको मत