Latest News

बिपत्तीमा सरकारी उदासिनता

वर्षाको मौसम सकिने समयमा अहिले देशव्यापी रुपमा बाढी पहिरोको विपद सुरु भएको छ । केही दिनयता यस्तो विपदमा परेर थुप्रै व्यक्तिहरुले अकालमै ज्यान गुमाउनु समेत परेको छ । हजारौं व्यक्तिहरु घरबारबिहिन भएका छन् । उनीहरुलाई उचित व्यवस्थापन गर्ने मुख्य दायित्व राज्यको भएपनि त्यसतर्फ उचित ध्यान नदिइदा धेरै नेपाली नागरिकहरुको विचल्ली भएको छ । विपद आइपरेका बेला दाताहरुको मुख ताक्ने नेपालको बागडोर सम्हाल्नेहरुको विगतदेखिकै गलत प्रवृत्तिका कारण हरेक वर्ष नेपालीहरुले बाढी पहिरो लगायतका थुप्रै प्राकृतिक विपत्तिहरुको सास्ती भोग्नु परिरहेको छ ।
वास्तवमा नेपालको भौगोलिक बनावटका हिसाबले भन्ने हो भने यस्ता प्राकृतिक विपत्तिहरु नेपालका लागि नौला होइनन् । तर यस्ता विपत्तिहरुबाट बच्न समयमै सजगता अपनाउने सम्भावना प्रशस्त हुँदाहुँदै पनि त्यसतर्फ ध्यान नदिइएको मात्रै हो । यही उदासिन प्रवृत्तिका कारण खासगरी वर्षायाममा भारतीय सीमावर्ती क्षेत्रका बासिन्दा र पहाडी बासिन्दाहरु बढी जोखिममा पर्ने गरेका छन् । मान्छे वा कुनै जीव जन्तु मर्नुभन्दा अघि त्यसलाई रोग लाग्नै दिनुहुँदैन भन्ने मान्यताको विकास हुन सके यस्ता प्राकृतिक विपत्तिको सामना हरेक वर्ष गर्नुपर्ने बाध्यताबाट हामीले सहज रुपमा उन्मुक्ति पाउने सम्भावनाहरु प्रशस्त नभएका पनि होइनन् । तर ती सम्भावनाको खोजी र त्यसको सही कार्यान्वयन गर्नेतर्फ हामीले ध्यान पुर्याउन नसकेको मात्रै हो ।
हरेक विपत्तिको पूर्वामुनमान हुन वा गन नसकिए पनि विशेषगरी वर्षायाममा आइलाग्ने प्राकृतिक विपत्तिको पूर्व अनुमान समय अनुसार लगाउन सकिन्छ । सुख्खायाममा पहिरो र डुवान बारे समयमै सजगता अपनाउने उपायको अवलम्बन गर्न सकेको खण्डमा हामीले प्रत्येक वर्ष करोडौंको क्षति बेहोर्नुपर्ने अवस्था पक्कै पनि आउदैन थियो । यस्तो उपायको व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी भनेको राज्यसत्ताको बागडोर सम्हालेर बस्नेहरुकै हो । तराईको डुबान सम्भावित क्षेत्रमा टहरो बनाएर गुजारा चलाइरहेको नागरिकको बुताभित्रको कुरा त्यो होइन । न त विकट पहाडको भित्तामा ढुंगा र माटोले निर्मित झुपडी वा ओडारमा गुजारा चलाइरहेकाहरुकै बुताभित्र पर्ने कुरा हो ? त्यसैले पनि प्राकृतिक विपत्ति आइपरेपछि दाताहरुको आशमा बस्ने होइन, त्यस्तो विपत्ति आउनै नदिने अवस्था राज्य सञ्चालकहरुले बनाउनुपर्छ । रोग लागेर मर्ने अवस्थामा पुगेपछि औषधिको खोजी गर्ने होइन, रोग नै लाग्न नदिने बाटो रोज्नुपर्छ । नत्र यस्तो प्राकृतिक विपत्ति हाम्रो लागि सदाबहार बनिरहन्छ । यसतर्फ सम्बद्ध पक्षले समयमानै सजगता अपनाउनु पर्दछ ।

« PREV
NEXT »

यसमा तपाइको मत