आजभन्दा करिब ६९ वर्ष पहिले क.लेनिनकै जन्मजयन्तिको उपलक्ष्यमा नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । सो पार्टी विभाजित भएर हाल चीरा चीरा भई छरपष्ट भएको छ । शोषित पीडित अवस्थाबाट मुक्ति दिलाउने महान् उद्देश्य बोकि स्थापित भएका नेपाल कम्युनिष्ट पार्टी यसरी छरपष्ट भएकोमा नेपाली जनता मर्माहत भएका छन् । कम्युनिष्ट पार्टी छिया छिया भएपछि शक्ति छिन्न भिन्न भई प्रतिक्रियावादी शक्ति हावि बन्दै गइरहेका छन् । लेनिनको पवित्र नाम बेचेर लेनिनकै जन्मदिनको अवसर पारेर स्थापित भएको पार्टीको नेतृत्वको अवसरवादी र व्यक्तिवादी चरित्रको कारण नेपालको कम्युनिष्ट पार्टी यसरी छिन्नभिन्न हुनु परेको यथार्थलाई कसैले नकार्न सक्दैन ।
पछिल्लो पटक मुलुकका २ ठूला कम्युनिष्ट घटकहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सर्वहारा वर्गका कमरेड लेनिनकै जन्मजयन्तिका अवसरमा वैशाख १० गते पार्टी एकताको घोषणा गर्ने भनिएको थियो विडम्बना उही व्यक्तिवादी र अवसरवादी चरित्रकै कारण त्यो दिन एकता घोषणा हुन सकेन । विधिवत रुपमा पार्टी एकता नभएपनि पार्टी एकता हुने नाममा एमाले अध्यक्ष ओली बहुमत दलको नेता सहित बहुमत प्राप्त दलको प्रधानमन्त्री भएका छन् । अहिलेसम्म विचार सिद्धान्त कार्यदिशा चुनाव चिन्हको निक्र्याैल गर्न नसकेको गठबन्धनमा अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहालको मात्र व्यवस्थापन भएको र दुवै दलका दोस्रो तहका नेताहरुको व्यवस्थापन हुन सकेको अवस्था छैन । पार्टी एकता हुँदा सम्मानजनक पद नपाए दोस्रो तहका नेताहरुले पार्टी भित्रै बिद्रोह नमच्याउलान् भन्न सकिन्न । दोस्रो तहका नेताहरुको तालमेल मिलाउन दुई अध्यक्षलाई फलामको चिउरा सावित भएको छ ।
यही कारण प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष बीच पार्टी एकताका विषयमा जति पटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । दुई नेताबीचको बैठक एकताको सवालमा ठोस निर्णय हुन नसक्दा बाम एकता घोषणा हुने दिन झन् झन् पर धकेलिएको हो । ओली र प्रचण्डबीचको छलफलमा दुवै पार्टीका दोस्रो तहका नेताहरुको उचित व्यवस्थापनको विषयमा केन्द्रीत रहने गरेको छ । कार्यदलले २९९ सदस्यीय केन्द्रीय कमीटी हुने गरी एकीकृत पार्टीको संरचना हुने प्रतिवेदन तयार गरे पनि ३५० सदस्यसम्म पुर्याउने गरी दुई अध्यक्ष बीच छलफल भइरहेको बुझिएको छ ।






Social Buttons