देशलाई विधिवत रुपमा गणतन्त्र घोषणा गरेको पनि यतिका दिन बितिसकेको छ । देश विकासको टगारोको रुपमा रहको भन्दै राजतन्त्रलाई दरबारबाट निष्कासित गरेको पनि करिब १० वर्ष व्यतित भइसकेको छ । तर यी गणतन्त्रवादी दलहरुले देश र जनताको निमित्त माखोसम्म मारेको छैनन् । केवल आ–आफ्नो स्वार्थसिद्ध गर्ने बाहेक । यिनीहरु देश र जनतालाई गुमराहमा पार्ने काम गर्नमा तल्लिन रहे । विदेशी तालमा छम्छम् नाँच्ने काम बाहेक केही गर्न सकेका छैनन् । आफैले विस्तारवादी र साम्राज्यवादी भन्दै आएको प्रभुहरुको चाकडी गर्न थाल्दैछन् । अर्थात् यी गणतन्त्रवादी नेताहरु नयाँ नेपालको नाममा देश र जनतालाई च्याँखे दाउमा थाप्न तँछाड मँछाड गर्दैछन् । उनीहरु रातारात करोडपति बनिरहेछन् भने जनताहरु झन् झन् गरिबीको रेखामुनी झर्दैछन् एकआंग ढाक्न र एक छाक खानमै संघर्षरत छन् । शान्ति, सुरक्षा र अमन चयनको नारामा करोडौ धनराशी स्वाहा पारिदै छ, तर मुलुकमा झन्झन् हत्या, बलात्कार, अपहरण जस्ता जघन्य अपराधहरु दिनहु घटिरहेकै छन् । जनताको ज्यूधनको सुरक्षाको कुनै ग्यारेन्टी छैन । आफूलाई गणतान्त्रिक भन्न रुचाउनेहरुको नेतृत्वमा सरकार बनेपछि, सम्पूर्ण सरकारी बजेटहरु आ–आफ्नो पार्टीका भिजिलान्तेहरुलाई बाडिने क्रम तीव्र पारिए । गृहको आपतकालिन बजेट होस् या स्वरोजगारको नाममा खर्चिने रकमहोस्, आ–आफ्ना आसेपासीहरुलाई मात्र वितरण गरिदैछ । विडम्बन जेष्ठ नागरिकहरुलाई दिइने भनिएको वृद्ध भत्ताको समेत समुचित वितरण गरेका छैनन् । गाविस सचिवहरुले समेत माथिको अनुकरण गर्दै वृद्ध भत्ता लापरवाही ढंगले वितरण गर्दै आएका छन् । यसरी गाविस पदाधिकारीहरुले समेत लापरवाही गर्दा हजारौ हजार वृद्धवृद्धदा एकल महिला, अपांगहरुले आफूले पाउने भनिएको भत्ताबाट बन्चित हुनु परेको अवस्था छ । यसतर्फ गणतन्त्रवादी भनाउँदाहरुको कुनै चासो छैन ।
यसमा तपाइको मत
Social Buttons