मल्ल परिवारको विवादले राप्रपाको धनुषामा स्थानीय चुनावको तयारी नै प्रभावित भएको छ ।
राप्रपाका पुराना नेता हेमबहादुर मल्ल, शेरे धनुषा नामले परिचित थिए । उनले मात्र होइन, श्रीमती सारदाले पनि पञ्चायकालमा चुनाव जितेका थिए ।
तर, अहिले मल्लका छोरा, बुहारी र भतिज राप्रपामा छन् । तर, यो परिवार दुई खेमामा बाँडिएको छ, जसका कारण चुनाव तयारी समेत प्रभावित भएको छ ।
तत्कालीन राप्रपा नेपालले दोस्रो संविधानसभा निर्वाचनमा राम्रै मत पाएको थियो । तर, राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले धनुषामा भने विवाद मिलाउन सकेको छैन । अहिलेसम्म जिल्लामा दुई अध्यक्ष छन् ।
एउटा समूहको नेतृत्व मनोज मल्लले गरिरहेका छन् भने अर्कोको नेता कृष्णप्रताप मल्ल हुन् । मजोज शेरे धनुषाका छोरा हुन् भने कृष्ण भजित हुन् । मनोजकी पत्नी प्रेक्षा पनि राप्रपाकी केन्द्रीय सदस्य हुन् र धनुषाधाम नगरपालिकाको मेयरको उम्मेदवार बन्ने तयारी छन् ।
तर, विवाद मिल्ने कुनै संकेत छैन । दुबैले एकअर्काको नेतृत्व स्वीकार गर्न सकेका छैनन् । तत्कालीन राप्रपा नेपालका तर्फबाट मनोज मल्लको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको छ भने कृष्णप्रताप मल्ल पक्षले रामचन्द्र यादवलाई जिल्ला अध्यक्ष चयन गरेको छ ।
केन्द्रिय समितिले कुनै एकलाई आधिकारिकता नदिँदा कार्यकर्ता पनि अन्योलमा छन् ।
चुनावको मुखमा विवाद समाधान नहुँदा तयारी सुस्त रहेको राप्रपाका स्थानीय नेताहरु बताउँछन् । विवाद समाधान गर्न नेतृत्वले चासो नदेखाएको भन्दै दुई दिन अघि मात्रै पार्टीका जिल्ला नेता मीनबहादुर थिङ र घनश्याम साहले पार्टी परित्यागको घोषणा गरेका थिए । साहले भने, ‘जिल्लाका नेताहरुले नै तदरुकता नदेखाएपछि कार्यकर्ता अन्योलमा छन् ।’
पार्टीका जिल्ला नेता दामोदर खनालका अनुसार स्थानीय तहको निर्वाचन सम्बन्धी अहिलेसम्म पार्टीभित्र कुनै औपचारिक बैठक बस्न सकेको छैन । विवादकै कारण उम्मेदवार तय हुन सकेको छैन ।
कृष्णप्रताप मल्लले पार्टीभित्र गुटबन्दी रहेको स्वीकार गरे । साथै पार्टी नेतृत्वले जसरी चासो लिनुपर्ने हो, त्यस अनुसार नलिएको गुटबन्दी मौलाएको मल्लले बताए ।
यस्तो छ विवादको श्रृंखला
व्यापार व्यवसायमा गर्ने कृष्णप्रताप मल्ललाई काका हेमबहादुरले नै राजीनामा ल्याएका थिए । दुबैको सहमतिमा निकै लामो समयसम्म राजनीति चल्यो तर, कृष्णको राजनीति उकालो लाग्न थालेपछि सुरु भयो द्वन्द्व ।
राजनीतिकै कारण एक अर्कोको शत्रु बन्न पुगे, जुन अहिलेसम्म पनि देखिएको छ । पूर्वसांसद कृष्णप्रताप भन्छन, ‘मलाई राजनीतिमा आउने चाहना थिएन । हेमबहादुरले नै ल्याउनु भो । तर, जब मैले उहाँको राजनीतिमा असहमतिहरु राख्न थालेँ, उहाँ ममाथि नै जाइलाग्नुभयो ।’
हेमबहादुर त अहिले जीवित छैनन् । तर, उनको शेख पनि विवाद समाधान भएको छैन । यो द्वन्द्व कृष्णप्रताप र हेमबहादुरका छोरा मनोजबीच सरेको छ ।
निर्वाचनको कमाण्डर कृष्ण
राप्रपाको यसपटकको स्थानीय तहको निर्वाचनको धनुषा कमाण्डर कृष्णप्रतापलाई तोकको छ । विवाद मिलाउनेदेखि टिकट वितरण गर्ने अधिकार उनले नै पाएका छन् । तर, उनले हेमबहादुरकी बुहारी प्रेक्षालाई धनुषाधाम नगरपालिकाको मेयरको टिकट दिन्छन् कि दिन्नन् हेर्न बाँकी छ ।





Social Buttons