Latest News

दलित–दलितबीच छुवाछुत परकाष्टमा

प्रकाशचन्द परियार
सँधै ब्राह्मणवादको विरोध गरिरहने दलित समुह आन्तरिक छुवाछुतमा चुर्लूम्म डबेको मात्र छैन, दलित–दलितबीचको उचनीच, भेदभाव र नाटीकुटीमा चुर्लुम्म डुबेको छ । र, त खप्की सहनुपर्छ लाचार भएर दलितहरुले ‘तिमीहरुको पनि त सानो र ठूलो जातको भेदभाव अझै कायम छ नि भन्ने कथित माथिल्लो जातका सानो र ठूलो जातको उपदेश सुन्न पर्छ । दुर्भाग्य के छ भने रुढिवादी र धार्मिक कटूनीतिक चालबाजीका कारण जातीय उत्पीडनमा बाँच्नुपरेको दलित वर्गलाई तत्कालिन सामाजिक कठमुल्लाहरुले ‘फुटाउ र शासन गर’ नीति दलित–दलितबीच पनि अख्तियार गरे । जुन रोग छुवाछुतका विरुद्ध लागिपरेको दशकौं भयो भन्ने दलित नेताहरुको आफ्नै घरमा समेत व्याप्त छ । सामाजिक परिवर्तनको कठोर आन्दोलनको रुपमा माथिल्लो जाती भनाउँदाको रामवाण ‘तिमीहरुको आफू आफूबीचको छुवाछुत पहिले हटाऔं न’ ले मुखबुजो लगाइदिएको छ दलित नेतृत्व पंक्तिलाई ।  छुवाछुत शोषणको पराकाष्ट हो ।
यो मानवीय सवालमा कलंक हो भन्न तयार शिक्षित समुदायका धेरै ब्राह्मण र क्षेत्री वर्गका व्यक्तिहरु स्वतस्फुर्त तयार भइरहेको वर्तमान अवस्थामा दलित–दलितबीचको छुवाछुतचाहिँ कुरीतिको रुपमा जस्ताको त्यस्तै रहनु अशिक्षित र कट्टर रुढीवादी दलित समुदायको परम्परागत नासो हो । जसले दलितहरुको एकीकृत आन्दोलनको मुख थुनेको छ । सम्पूर्ण दलितहरुलाई छुवाछुतको भेदभाव गरिरहन कथित उपल्ला जातिका मान्छेहरुलाई ‘होस्टेमा हैंसे’ गर्न मद्दत गरिरहेको छ ।
दुर्भाग्य के छ भने दलितहरुको बाहुल्य रहेको कैलाली जिल्लाको गोदावरी गाविस जहाँ दुई पटक स्थानीय नेतृत्व मात्र होइन, बहुमत प्रतिनिधिहरु दलित समुदाय रहेको स्थितिमा समेत त्यहाँ आन्तरिक छुवाछुत ज्यूँका त्यूँ छ । रोचक कुरा त के छ भने त्यहाँ जातैपिच्छेका कुवा छन् । कतिसम् मभने कामीका लागि एउटा, क्षेत्रीका लागि अर्काे र दमाईका लागि भिन्नै तीनथरीको कुवा । कामी र दमाई दुवै कथित अछुत वर्गको भए पनि कामीले आफूलाई दमाईभन्दा उच्च ठान्दछ र छुवाछुत गर्दछ । उसो त दमाई र सार्कीले वादीलाई आफुभन्दा तल्लो सम्झी भेदभाव र छुवाछुत गर्दछन् । तराईका दलितहरु पनि आन्तरिक छुवाछुतबाट पृथक छैनन् । मधेसी समुदायका ‘दुसाध’ र ‘चमार’ ले अन्य सबै मधसी मूलका दलितलाई अछुत मान्दछन् भने ‘खत्वे’ र ‘मुसहर’ ले ‘डोम’ र हलखोरलाई तल्लो जाति भनेर आन्तरिक छुवाछुत गर्दछन् । पहाडी मुलुकका सार्की र कामीबीच पनि समानताको व्यवहार छैन । पचासको दशकदेखी अत्यन्त बढी चर्चामा आइरहेको दलितको सवाल प्रचारबाजीको रुपमा मात्रै विकसित भइरहेको वर्तमान परिप्रेक्ष्य सामाजिक परिवर्तनका लागि संगठित हुँदै समयले मागेको खण्डमा ‘प्राणोत्सर्ग’ गर्न दलितहरु तयार छन् भन्ने कुराको नजिर ‘लाहान चमार बहिस्कारकाण्ड’का विरुद्ध जागेको दलितहरुको साहसिक कार्यले पुष्टि गरिसकेको छ ।
शोषण र उत्पीडनका विरुद्ध दलितहरु गैरदलितका विरुद्ध खुलेर लागिपर्नु तर आफू–आफूबीच रहेको आन्तरिक छुवाछुतचाहि ओझेलमा पारिनुले दीर्घकालिन दलित मुक्ति आन्दोलनलाई ठूलो धोका हुनसक्छ । कारण आन्तरिक सुदृढीकरण एवं जातीय एकताबिना संघर्ष सफल हुने सपना देख्नु निरर्थक यस मानेमा हुन्छ कि यसले संयुक्त आन्दोलनलाई चिरा–चिरा पार्न प्रत्यक्ष–अप्रत्यक्ष सघाइरहेको हुन्छ ।
अन्तरजातीय विवाहका हिमायती दलितहरुले व्यवहारिक रुपमा दलित–दलितबीच अत्यन्त कम अन्तरजातीय वैवाहिक सम्बन्ध स्थापित गरेको पाइन्छ । त्यो केटा र केटीको विद्रोहका कारण दुर्भाग्य के छ भने दलित–दलितबीच पानी बराबर जातीय विभेद, र उचनीचको पर्खाल ठाडै रहेको प्रसंगमा मागी विवाहको कल्पनै गर्न सकिएको छैन । पर्वत जिल्लाको माझफाँट गाविस वडा नं. ८ की गामो दर्जीले उनकै छिमेकी मिनबहादुर विश्वकर्मासँग प्रेम गरिन् । प्रेम प्रसंग मै उनी मिनबहादुरकी गर्भवती भइन् । तर, सुत्केरी अवस्थामा मिनबहादुरका परिवारले आफुभन्दा तल्लो जातको भनी आफ्नो छोरालाई बम्बैतिर भगाएर आन्तरिक छुवाछुतको कठोर अभ्यास गरे । आफ्नै नातिको न्वारन उनीहरुले गरेका मात्र छैनन् सुत्केरी अवस्थामा समेत उनीहरुले मानवीय व्यवहार नगरी गोठमै बच्चा जन्माउने वातावरण सिर्जना गरे । हाल गोमा दर्जी आफ्नो प्रेमी मिनबहादुर विश्वकर्माको धोका मात्र होइन, आन्तरिक छुवाछुतको सिकार भएर बाँचिरहेकी छिन् । मिनबहादुर र गोमा दुवैजना दलित समुदायका हुन् । तर, दलित समुदायभित्रको आन्तरिक छुवाछुतले जरो गाडेको कारण गोमा दर्जी घरको न घाटको अवस्थामा दुःखद् समय काटिरहेकी छिन् ।
दलित–दलितबीचका यस्ता घटनाहरुले पुरातनवादी, वर्णवादी एवं जातीय अहंकारिवादी समाजलाई मलजल गर्ने काम, गरिरहेको छ । आन्तरिक छुवाछुतको यो खाडलले दलित आन्दोलनलाई भाँड्न बल मात्र पुर्याइरहेको छैन सामाजिक रुपान्तरणको प्रयासलार्य समेत ठाडो चुनौती दिइरहेको छ ।
नेपाली समाजमा शताब्दियौंदेखि जरो गाडेर बसेको छुवाछुत प्रथाका कारण समाजमा ‘अत्यन्त अमानवीयरुपमा जीवन गुजारा गरिरहेका दलित समुदायको सामाजिक रुपान्तरणका लागि राज्यको भूमिका अत्यन्तै ठूलो छ । यसमा मतमतान्तर हुन सक्दैन । तर, दलित–दलितबीच रहेको आन्तरिक छुवाछुतको निवारणका लागि भने दलित समुदाय नै सबैभन्दा बढी संवेदनशील, सचेत र द्रुततर रुपमा लाग्नुपर्ने देखिन्छ, जसका लागि दलितका संघसंस्था तथा संगठनहरुले आन्तरिक छुवाछुतका विरुद्ध योजनाबद्ध कार्यक्रमहरु अगाडि ल्याउनुपर्ने देखिन्छ । दलित अन्तरजातीय विवाहलाई प्रोत्साहित गराउँदै स्थापित गराउनसमेत कार्यक्रम तर्जुमा गर्नुपर्नु आवश्यकता खड्किरहेको छ । सँधै अरुलाई दोषारोपण गरेर दलितहरु पन्छिन नमिल्ने अवस्था आन्तरिक छुवाछुतको कारण पनि हो । दलित मुक्ति आन्दोलनलाई जति आवश्यकता छ त्यति नै एकीकृत आन्दोलनलाई मलजल र व्यवस्थि तगर्न आन्तरिक छुवाछुतको निवारणका लागि सत्प्रयासको अत्यावश्यकता छ जसले दलित समुदायको सामाजिक रुपान्तरणमा निर्णायक भूमिका खेल्नसक्छ ।
(२१ वर्ष अघिको ‘छहरा’बाट लिइएको यो लेख अहिले पनि उतिकै सान्दर्भिक देखिन्छ ।)
« PREV
NEXT »

यसमा तपाइको मत